डब्लुएचओ र स्वास्थ्य मन्त्रालयको टोली नेपालगञ्जमा, कन्ट्याक्ट ट्रेसिङ्ग गर्दै

बाँके – एउटै टोलमा २२ जना सहित २३ जनामा कोरोना भाईरस(कोभिड–१९)को सङ्क्रमण भेटिएपछि स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको टोली नेपालगञ्ज पुगेर सङ्क्रमण राकथाम र नियन्त्रणमा जुटेको छ ।
विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोलीले स्थलगत खटिएर काम गरिरहेको छ ।
टोलीले सुरुमा सङ्क्रमितहरुको सम्पर्कमा आएका ब्यक्तिको पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङ्गको काममा जुटेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पसर्न नरेशमान श्रेष्ठले जानकारी दिनुभयो । नगर क्षेत्र भएका कारण सङ्क्रमितको सम्पर्कमा आएका ब्यक्तिको पहिचानमा कठिनाई भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन र मन्त्रालयको टोलीसँगै काम गरिरहेका छौं, स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन श्रेष्ठले भने,– कन्ट्याक्ट ट्रेसिङ्गको काम सकिएलगत्तै स्वाब संकलन गरि जाँचका लागि भेरी अस्पतालमा पठाईनेछ । स्वास्थ्य सेवा विभागका निर्देशक डा.यदुचन्द्र घिमिरे नेतृत्वको स्वास्थ्य मन्त्रालयको टोलीले सङ्क्रण फैलिएको अवस्थामा गर्नुपर्ने काम औषधी तथा उपकरण र स्वास्थ्य जनशक्तिको बारेमा आवश्यक जानकारी लिएको छ ।
कन्ट्याक्ट ट्रेसिङ र स्याम्पल संकलन कार्यलाई प्रभावकारी बनाउनका लागि जिलला प्रशासन कार्यालय बाँकेले मङ्गलबार विहान ११ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेकलाई घरबाहिर निस्कन नपाउने गरि निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा नेपालगञ्जको त्रिभुवन चोक आसपास, रानीतलाउ, नगरभवन आसपासको क्षेत्र सिल गरेर स्याम्पल संकलन गर्नुपर्ने अवस्था देखिएको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ ।

मङ्गलबार फेला परेका सातजना सङ्क्रमितलाई उपचारका लागि आईसोलेसन अस्पतालको रुपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा भर्ना गरिएको छ । सङ्क्रमित सबै २३ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए । –गोरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्