दार्चुला – चौथो जिल्ला सभाले राष्ट्रवादी नेता स्वर्गीय प्रेमसिंह धामी प्रति सम्मान गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।
जिल्ला सभाले राष्ट्रियताको सवालमा प्रेमसिंह धामीको योगदान चर्चा गर्दै कालापानीको विषयलाई राष्ट्रिय मुद्दा बनाइनुपर्ने, कालापानी नेपालको मुटु हो लगायतका आवाजहरु सदनमै उठाउने पहिलो व्यक्ति भएको निष्कर्ष निकालेको छ । सोही अनुरुप राष्ट्रबादी नेता स्वर्गिय प्रेमसिंह धामीकै नामबाट सतबाँजदेखि खलंगा सडकको नामांकरणकालागि माग गर्ने निर्णय गरेको छ ।
दार्चुलाको चौथौ जिल्ला सभाले सतबाँज–गोकुलेश्वर–खलंगा सडकको नाम प्रेमसिंह धामी मार्ग नामांकरणका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको सभामा सहभागि मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको अत्तरिया चोकमा ४ जनाको पूर्ण कदको शालिक बनाउने निर्णय गरे पनि स्वर्गीय प्रेमसिँह धामीको शालिक निर्माण गर्ने कुरा छुटाएको थियो । चौथो जिल्ला सभाले प्रेमसिंह धामीको शालिक पनि चार विभूतिहरुसंगै निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारले जयपृथ्वी बहादुर सिंह, दशरथ चन्द, भीमदत्त पन्त, पहलमान स्वाँरको कैलाली चोकमा पूर्ण कदको शालिक बनाउने निर्णय गरेको हो ।
राष्ट्रियताका सवालमा अब्बल र निडर दार्चुलाका वक्ता, राष्ट्रबादी स्वर्गिय नेतालाई कालापानीको विषय विवाद आउदाँ सबैले सम्झिने गरेका छन् । पछिल्लो समय सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नक्सा जारी गरेकाले स्वर्गिय नेता धामीको सपना साकार हुने अपेक्षा पनि लिइरहेका छन् ।
नेपाल सरकारले अतिक्रमित नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको र तिंकर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको भन्दै सरकारलाई धन्यबाद ज्ञापन गर्ने निर्णय पनि जिल्ला सभाले गरेको छ ।