काठमाडौं । आफ्नै घर निर्माण वा खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै मुक्तिनाथ विकास बैंकले विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थप गरी घर कर्जाको ब्याजदर ५.७८ प्रतिशत कायम गरेको जनाएको छ।
बैंकको हालको आधार दर ५.५३ प्रतिशत रहेकाले विशेष योजनाअन्तर्गत घर कर्जाको ब्याजदर ५.७८ प्रतिशत कायम हुने बैंकले जनाएको हो। यो सुविधा २०८३ साल कात्तिक मसान्तसम्म उपलब्ध हुनेछ।
विशेषगरी पहिलोपटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि बैंकले घरको मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अन्य घर कर्जाको हकमा भने मूल्याङ्कन गरिएको घरजग्गाको अधिकतम ७० प्रतिशतसम्म कर्जा लिन सकिने बैंकले जनाएको छ।
घर निर्माण, घर खरिद तथा आवाससँग सम्बन्धित वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ। ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ तथा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै योजना ल्याइएको बैंकको भनाइ छ।
बैंकका अनुसार योजना अवधिमा ग्राहकले तुलनात्मक रूपमा कम ब्याजदरमा आवास कर्जा लिन सक्नेछन्। कात्तिक मसान्तपछि भने बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्त लागू हुनेछन्।
मुक्तिनाथ विकास बैंकले देशभर रहेका आफ्ना १७६ शाखामार्फत यो कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ। घर निर्माण वा खरिदका लागि कर्जा लिन इच्छुक ग्राहकले नजिकको शाखामा सम्पर्क गरी योजनासम्बन्धी थप जानकारी लिन सक्नेछन्।
बैंकले आवास कर्जासँगै अटो कर्जा तथा कृषि र साना तथा मझौला उद्यम (एसएमई) कर्जाका लागि पनि विभिन्न विशेष योजना सञ्चालन गरिरहेको जनाएको छ।



