काठमाडौं । उद्यमशीलता विकाससँगै रोजगारी सिर्जनामा जोड दिँदै आएको नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)’ को फेलोसिप तथा सर्टिफिकेट कोर्सका नयाँ समूहका लागि आवेदन खुला गरेको छ।
बैंकले फेलोसिपको सातौँ समूह र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको हो। १८ वर्ष उमेर पूरा भएका नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आगामी असोज २६ गते अर्थात् १२ अक्टोबर २०२६ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।
नबिल एसएसईमार्फत हालसम्म १ हजार ५८० जनाले उद्यमशीलतासम्बन्धी तालिम प्राप्त गरिसकेका छन्। बैंकका अनुसार तालिमपछि ३१८ वटा उद्यम स्थापना भएका छन् भने ती उद्यममार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १९ हजार ३०३ जनाका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएका छन्।
फेलोसिपबाट ९३ उद्यम सञ्चालनमा
नबिल एसएसई फेलोसिपका यसअघिका ६ वटा समूहबाट ११३ जना प्रशिक्षित भइसकेका छन्। तीमध्ये ९३ वटा फेलो नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ।
त्यस्तै, सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना सहभागी लाभान्वित भएका छन्। उक्त कार्यक्रममार्फत २२५ वटा उद्यम स्थापना भएको बैंकको तथ्यांक छ।
नयाँ समूहमा विशेषगरी दिगो उद्यम निर्माण तथा रोजगारी सिर्जनाको लक्ष्य राखेका महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका व्यक्तिलाई आवेदन दिन प्रोत्साहित गरिएको छ। छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ।
व्यवहारिक उद्यमशीलतामा केन्द्रित कार्यक्रम
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने फेलोसिप ६ महिनाको उद्यम विकास कार्यक्रम हो। यसले सहभागीलाई आफ्नो उद्यम विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ।
सर्टिफिकेट कोर्स भने करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो। विद्यार्थी, उद्यम सुरु गर्ने तयारीमा रहेका व्यक्ति, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म र साना उद्यमीलाई लक्षित गरिएको यस कार्यक्रममा व्यवसायिक अवसर पहिचान, अवधारणा परीक्षण तथा व्यवहारिक व्यवसायिक मोडल निर्माणलगायतका विषयमा प्रशिक्षण दिइनेछ।
यस वर्ष सर्टिफिकेट कोर्सका लागि देशभरका १० शैक्षिक कार्यान्वयन साझेदार संस्था छनोट गरिएको छ। कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल तथा बागमतीमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुल रहेका छन्।
लुम्बिनीमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णालीमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुनेछ।
उद्यमीलाई ज्ञानदेखि सञ्जालसम्म
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नबिल एसएसईले उद्यमीको क्षमता विकाससँगै उनीहरूलाई आवश्यक ज्ञान, सञ्जाल तथा उद्यमशीलता प्रणालीसँग जोड्ने उद्देश्य राखेको बताएका छन्।
सन् २०२१ मा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना भएको नबिल एसएसईले आकांक्षी तथा विद्यमान उद्यमीलाई व्यवसाय विकासका लागि आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचका अवसर उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुकले नबिल बैंकको आधिकारिक वेबसाइट तथा नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यमबाट आवेदनसम्बन्धी थप जानकारी प्राप्त गर्न सक्नेछन्।



