दक्षिण कोरियाको विकास, कृषि र स्थानीय शासनको अध्ययनमा अपिहिमाल गाउँपालिकाका अध्यक्ष बोहरा

काठमाडौं – मित्रराष्ट्र दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले कोरियाको स्थानीय शासन, कृषि, उद्योग, विपद् व्यवस्थापन, खाद्य सुरक्षा तथा सामाजिक विकासका क्षेत्रमा अपनाइएका असल अभ्यासबारे अध्ययन तथा अवलोकन गर्नुभएको छ। भ्रमणका क्रममा पहिलो दिन ग्येर्योङ नगरपालिकाको भ्रमण गरी नगरपरिषद् तथा कार्यालयको अवलोकन गरिएको थियो। सो क्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँग स्थानीय शासन प्रणाली, सेवा प्रवाह तथा विकासका विषयमा अन्तरक्रिया गरिएको अध्यक्ष बोहराले बताउनुभयो।

त्यसपछि ग्येर्योङ सिटीमा रहेको कोरियाली सैनिक तालिम केन्द्रको अवलोकन गरिएको थियो। सो अवसरमा केन्द्रमा स्थल, जल तथा हवाई सेनाका लागि विभिन्न प्रकारका तालिम सञ्चालन हुने जानकारी दिइएको थियो। भ्रमण टोलीले गोंजु सिटीमा रहेको एटोमी कम्पनीको कार्यालयको समेत अवलोकन गरेको थियो। बहुराष्ट्रिय कम्पनीका रूपमा रहेको एटोमीले विश्वका ५१ देशमा अनलाइनमार्फत कारोबार गरिरहेको र नेपालमा समेत छिट्टै कारोबार विस्तार गर्ने जानकारी प्राप्त भएको अध्यक्ष बोहराले बताउनुभयो।

दोस्रो दिन ह्वासेङ सिटीमा रहेको सेम्मियट कोरिया पोर्क मिट प्रशोधन कम्पनीको अवलोकन गरिएको थियो। उक्त कम्पनीमा करिब ३० जना नेपाली नागरिकसमेत कार्यरत रहेको जानकारी दिइएको थियो। कम्पनीले पोर्क मिटबाट विभिन्न खाद्य सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ। कोरियामा खाद्य सुरक्षालाई अत्यन्त प्राथमिकता दिइने र उत्पादनदेखि प्रशोधन तथा बिक्रीसम्म कडा मापदण्ड पालना गरिने भएकाले त्यहाँको खाद्य प्रणाली विश्वमै उदाहरणीय रहेको विषयमा समेत जानकारी लिइएको थियो।

त्यसपछि कोरियाली कृषि संग्रहालयको अवलोकन गरिएको थियो। संग्रहालयमार्फत कोरियाको कृषि इतिहास, परम्परागत जीवनशैली, प्रविधिको विकास र कृषि क्षेत्र हुँदै आधुनिक समृद्धितर्फ कोरिया अघि बढेको यात्राबारे जानकारी लिइएको थियो। भ्रमण टोलीले ग्येओङ्गी प्रान्तको सुमुवनस्थित सेमाउल उन्डोङ सेन्टरको समेत अवलोकन गरेको थियो। कोरियाको ग्रामीण विकास र समग्र राष्ट्रिय विकासमा सेमाउल उन्डोङ अभियानले पुर्‍याएको योगदान तथा अहिले पनि सञ्चालन भइरहेका गतिविधिबारे छलफल र अन्तरक्रिया गरिएको थियो।

यसैगरी दक्षिण कोरियाली रेडक्रसद्वारा आयोजित कार्यक्रममा पनि अध्यक्ष बोहरा सहभागी हुनुभएको थियो। कार्यक्रममा दक्षिण कोरियाली रेडक्रसले नेपालमा गर्दै आएको मानवीय तथा सामाजिक सहयोगबारे जानकारी दिइएको थियो। नेपालका विभिन्न जिल्लामा जीविकोपार्जन, सरसफाइ लगायतका क्षेत्रमा रेडक्रसले सहयोग गर्दै आएको बताइएको थियो।

रसुवामा आएको बाढी तथा विपद्का क्रममा राहत सामग्री उपलब्ध गराउनुका साथै विपद् कोषमा आर्थिक सहयोग गरिएको जानकारीसमेत कार्यक्रममा दिइएको थियो। नेपालमा आगामी दिनमा गर्न सकिने थप सहयोग तथा सहकार्यका विषयमा समेत छलफल भएको अध्यक्ष बोहराले बताउनुभयो। भ्रमणका क्रममा आन्सेङ सिटीमा रहेको जैविक मल उत्पादन गर्ने कम्पनीको समेत अवलोकन गरिएको थियो। कम्पनीले जैविक मल उत्पादनमार्फत रासायनिक मलको विकल्प तथा जैविक एवं दिगो कृषि उत्पादनमा योगदान पुर्‍याउँदै आएको जानकारी दिइएको थियो। त्यस्तै, कोरियाको अंगुर खेती तथा फार्मिङ प्रणालीको समेत अवलोकन गरिएको थियो। आधुनिक प्रविधिको प्रयोग, उत्पादन व्यवस्थापन, प्रशोधन तथा बजार व्यवस्थापनका विषयमा जानकारी लिइएको थियो।

अध्यक्ष बोहराले दक्षिण कोरियाको भ्रमणबाट स्थानीय शासन, कृषि, उद्योग, खाद्य सुरक्षा, जैविक उत्पादन, सामाजिक विकास तथा विपद् व्यवस्थापनका क्षेत्रमा अपनाइएका सफल अभ्यासबारे प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त भएको बताउनुभयो। यस्ता असल अभ्यासलाई नेपालको स्थानीय आवश्यकता र परिवेशअनुसार प्रयोग गर्न सके स्थानीय तहको विकास तथा सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन सकिने उहाँको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्