काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीका विषयमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा भएको कार्यक्रममा जलवायु परिवर्तनका कारण ऊर्जा पूर्वाधारमा परेको असर, सम्भावित क्षति न्यूनीकरण तथा स्वच्छ ऊर्जामा लगानी अभिवृद्धिका उपायबारे छलफल गरिएको थियो ।
प्रतिनिधिसभा सदस्य सागर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसियाली प्रविधि संस्थान (एआईटी), थाइल्यान्डका प्राध्यापक डा. शोभाकर ढकालले प्रमुख वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण टर्कीको मिडल इस्ट टेक्निकल युनिभर्सिटीका होराइजन युरोप एमएससीए पोस्टडक्टोरल शोधकर्ता डा. मुकेश घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार इन्जिनियर शिरीष पाण्डे, इप्पानकी कार्यसमिति सदस्य ज्योति गैरे र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई), दक्षिण कोरियाका वित्तीय रणनीतिक सहयोग एकाइ प्रमुख गुल्शन वशिष्ठ सहभागी हुनुहुन्थ्यो ।
छलफलको पहिलो चरणमा ऊर्जा पूर्वाधारमा जलवायु परिवर्तनका कारण भइरहेका क्षति र जलवायु उत्थानशील पूर्वाधार निर्माणको आवश्यकताबारे चर्चा गरिएको थियो । मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले ऊर्जा पूर्वाधारमा पछिल्लो समय भएका क्षतिबारे जानकारी गराउनुभएको थियो ।
त्यस्तै, इप्पानकी सदस्य गैरेले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रले भोगिरहेका चुनौती र जोखिमका विषय प्रस्तुत गर्नुभएको थियो । जीजीजीआईका वशिष्ठले जलवायुजन्य क्षति, उत्थानशील पूर्वाधार तथा क्षेत्रीय अनुभव र विश्वव्यापी नवीन प्रवृत्तिबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक योजना, रणनीति र लगानीका विषयमा छलफल भएको थियो । इन्जिनियर पाण्डेले जलवायु जोखिम सामना गर्न सरकारी योजना, ऊर्जा समिश्रण र ब्याट्री ऊर्जा भण्डारण प्रणालीको महत्त्वबारे जानकारी गराउनुभएको थियो ।
इप्पानकी सदस्य गैरेले ऊर्जा पूर्वाधार विकासमा निजी क्षेत्रले सामना गरिरहेका चुनौती र जोखिमबारे धारणा राख्नुभएको थियो । जीजीजीआईका वशिष्ठले ऊर्जा क्षेत्रमा लगानी जुटाउने वित्तीय संयन्त्र र संस्थागत अनुभव प्रस्तुत गर्दै नेपालको उदाहरणका रूपमा नेपाल पूर्वाधार बैंक (निफ्रा) को हरित ऊर्जा ऋणपत्रबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा सांसद ढकालले भोटेकोशी क्षेत्रको स्थलगत अनुभव र अन्तर्राष्ट्रिय अभ्यासबाट प्राप्त सिकाइ प्रस्तुत गर्नुभएको थियो ।
ऊर्जा मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार पाण्डेका अनुसार कार्यक्रमले नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याएर ऊर्जा पूर्वाधारमा बढ्दो जलवायु जोखिम र त्यसको सामना गर्ने उपायबारे विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ ।
नेपालका जलवायु उत्थानशीलतासम्बन्धी प्राथमिकता पहिचान गर्नुका साथै स्वच्छ ऊर्जा प्रणालीमा लगानी आकर्षित गर्ने उपायबारे भएको छलफलले दिगो र सुरक्षित ऊर्जा पूर्वाधार विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




