काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकमा रहेका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुईवटा वाणिज्य बैंकमा रहेको खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट यसअघि नै १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। उक्त रकम प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि परिचालन गरिएको हो।
बाढीपछि सरकारले प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संघसंस्था, निजी क्षेत्र तथा अन्य दाताबाट सहयोग रकम प्राप्त भई प्रधानमन्त्री राहत कोषमा जम्मा भएको हो।



