काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु–मुग्लिङ सडकखण्डमा पर्ने घोप्टेभीरमा पुनः सुक्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
सोमबार राति करिब ११ बजेको समयमा पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङका प्रहरी प्रमुख एसपी सुमित खड्काका अनुसार पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक खुलाउन प्रहरी तथा सम्बन्धित निकायले प्रयास जारी राखेका छन् ।
पहिरोका कारण तिहार मनाउन आ–आफ्नो गन्तव्यतर्फ लागेका सयौँ यात्रु बाटोमै रोकिएका छन् । सडकमा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरू गन्तव्यमा पुग्न समस्या भएको छ ।
उक्त स्थानमा पहिरो खसेको यो लगातार दोस्रो दिन हो । यसअघि पनि सोही खण्डमा पहिरो खस्दा करिब नौ घण्टापछि मात्रै सडक सञ्चालनमा ल्याइएको थियो ।
लगातार पहिरो खस्ने क्रम नरोकिँदा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालक थप सास्तीमा परेका छन् । प्रहरीले पहिरो पन्छाउने काम सकिएपछि मात्रै सडक सञ्चालनमा आउने जनाएको छ ।





