काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा जलेको अवस्थामा फेला परेको कारभित्र एक पुरुष मृत अवस्थामा भेटिएका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बा ५ च ३०३८ नम्बरको सेतो कारको चालक सिटमा पुरुषको शव जलेको अवस्थामा फेला परेको हो। शव पूर्ण रूपमा जलेका कारण हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार चाँदनीचोकस्थित एक खाली जग्गामा पार्किङ गरिएको अवस्थामा कारमा आगलागी भएको थियो। प्रारम्भिक अनुसन्धानबाट उक्त कार राति १० बजेर ४६ मिनेटमा सो स्थानमा पुगेको खुलेको छ।
सीसीटीभी फुटेजको प्रारम्भिक अध्ययनअनुसार कार पार्किङ गरेपछि चालक बाहिर ननिस्किएको र कारभित्रैबाट आगो लागेको देखिएको प्रहरीले जनाएको छ।
घटनाको कारण, मृतकको पहिचान तथा आगलागीको वास्तविक अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



