बल्खु-दक्षिणकाली-हेटौँडा रुटमा सवारी सञ्चालनको समयसीमा निर्धारण, राति ८ बजेसम्म फर्पिङ पुग्नुपर्ने

 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्म फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी सूचनामा यात्रु, चालक तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्धारित समयतालिका र सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

प्रशासनका अनुसार पछिल्लो समय काठमाडौं–बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाका कारण मानवीय क्षति हुने क्रम चिन्ताजनक रहेको छ ।

साँघुरो सडक, भिरालो तथा घुम्ती मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति तथा रातिको समयमा अँध्यारो सडकमा यात्रा गर्नु दुर्घटनाका प्रमुख कारणका रूपमा औँल्याइएको छ ।

त्यसैगरी, चालकको अत्यधिक कार्यबोझ, अनिद्रा तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ ।

प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

यसैगरी, काठमाडौं जिल्लाभित्र उक्त सडक खण्डमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधन अनिवार्य रूपमा जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

नयाँ व्यवस्थाले बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा हुने सम्भावित दुर्घटना न्यूनीकरण तथा यात्रु र चालकको सुरक्षा सुनिश्चित गर्ने प्रशासनको अपेक्षा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्