काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले आज पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ।
शनिबार बिहान प्रतिनिधिमण्डलले सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा पुगेर भ्रमणका विषयमा छलफल गरेको हो।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन प्रस्थान गर्दैछ।
यसअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेटवार्ता गरेको थियो। प्रधानमन्त्री शाहले चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा केन्द्रित गर्न निर्देशन दिएका थिए।
प्रतिनिधिमण्डलको भ्रमणलाई दुई देशका राजनीतिक दलबीचको सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।





