सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षा प्रणालीमा सुधार गर्न सरकारसँग आङ्देम्बेको माग

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा प्रणालीमा ठोस सुधार गर्न सरकारसँग माग गरेका छन् ।

मकवानपुरको चिसापानीगढीमा बिहीबार भएको यात्रुवाहक विद्युतीय हाइस दुर्घटनामा १४ जनाको मृत्यु भएपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

छठ पर्व मनाउन परिवारसहित घर फर्किरहेका यात्रु सवार हाइस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आङ्देम्बेले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

उनले सवारीसाधनको प्राविधिक अवस्था, यात्रु क्षमताको पालना तथा प्रहरी चेकपोस्टमा यात्रुको विवरण अद्यावधिक भए–नभएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

आङ्देम्बेले सवारीसाधनको नियमित प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख राख्ने व्यवस्था र प्रहरी निगरानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो । सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन ?’ उनले प्रश्न गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्