काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।
पाँच खेल खेलेको काठमान्डु गोर्खाजले चार खेलमा जित र एक खेलमा हार बेहोरेको छ । ८ अंकसहित काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, ६ खेल खेलेको सुदूरपश्चिम रोयल्सले चार खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । ८ अंकसहित सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ ।
यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
पाँच खेल खेलेको चितवन राइनोजले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको चितवन ५ अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ ।
यता जनकपुर बोल्ट्सले ६ खेलमध्ये दुई खेलमा जित र चार खेलमा हार बेहोरेको छ । ४ अंकसहित जनकपुर अंक तालिकाको छैटौँ स्थानमा रहेको छ ।
आज हुने दुवै खेल प्लेअफको दौडमा रहेका टोलीहरूका लागि महत्वपूर्ण हुनेछन् ।




