काठमाडौँ । राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धन अर्थात् कोइला तथा पेट्रोलियम पदार्थको प्रयोग घटाउने र जलवायु परिवर्तनविरुद्धको आर्थिक सहयोग बढाउने विषयले प्राथमिकता पाएको छ ।
गत सोमबारदेखि टर्कीको अन्ताल्यामा सुरु भएको सम्मेलनमा सहभागी विभिन्न देशका नेताहरूले जलवायु परिवर्तन नियन्त्रणका लागि प्रतिबद्धता जनाउने मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो तापक्रम, बाढी, तातो हावाको लहर तथा अन्य जलवायुजन्य विपद् नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ ।
सम्मेलनका क्रममा मिथेनलगायत शक्तिशाली हरितगृह ग्यासको उत्सर्जन घटाउन ४८ करोड अमेरिकी डलरभन्दा बढीको नयाँ परोपकारी आर्थिक प्रतिबद्धता सार्वजनिक गरिएको छ । त्यस्तै, मिथेन उत्सर्जन न्यूनीकरणका लागि थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग घोषणा गरिएको छ ।
सम्मेलनमा विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरूले जलवायु अनुकूलन, स्वच्छ ऊर्जाको विकास र विपद्पछिको पुनर्निर्माणका लागि विकसित देशबाट पर्याप्त आर्थिक सहयोग उपलब्ध गराउन माग गरेका छन् ।
यसैबीच, सन् २०३५ सम्म विश्वव्यापी विद्युत् प्रयोगको हिस्सा ३५ प्रतिशत पुर्याउने प्रस्तावले पनि सम्मेलनमा चर्चा पाएको छ । यद्यपि, जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा तेल तथा ग्यास उत्पादक देश र अन्य मुलुकबीच मतभेद देखिएको छ ।
वैज्ञानिकहरूले विश्वव्यापी तापक्रम वृद्धि पेरिस जलवायु सम्झौताले निर्धारण गरेको १.५ डिग्री सेल्सियसको सीमाभन्दा माथि पुग्ने जोखिम औँल्याइरहेका बेला सम्मेलनबाट ठोस निर्णय लिन अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ ।
आउँदो मंसिर ४ गते अर्थात् नोभेम्बर २० सम्म सञ्चालन हुने सम्मेलनमा जलवायु वित्त, हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु अनुकूलनका विषयमा ठोस निर्णय तथा उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।




