काठमाडौं – काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत फेला परेकी २५ वर्षीया निशा सुनुवारको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-७ घर भई माछापोखरी बस्दै आएकी सुनुवारको शव आइतबार गेस्टहाउसको कोठामा पलङभित्र लुकाइएको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानले हत्या भएको संकेत गरेको छ। साउन ३ गते कोठा सफा गर्ने क्रममा दुर्गन्ध आएपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा पलङमुनि सड्न थालेको अवस्थामा शव फेला परेको थियो।
अनुसन्धानका क्रममा गेस्टहाउसको कोठा एक युवकको नाममा बुक गरिएको र सुनुवार असार २८ गतेदेखि त्यहाँ आउजाउ गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। शवमा बाहिरी रूपमा ठूलो चोट नदेखिए पनि टाउकोको पछाडिको भागमा सामान्य चोट रहेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार पुरुष र एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। सुनुवारको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने घटनाको वास्तविक कारण खुलाउन प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।



