हजारौँको चिना बनाउने तथा धर्म, ज्योतिष र समाजसेवाका पर्याय धनदेव जोशी अब स्मृतिमा

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–५, मैखोली (गडानी) निवासी ख्यातिप्राप्त ज्योतिष, समाजसेवी तथा लटिनाथ र ऐडिबाग मन्दिरका  भरण्या धनदेव जोशीको ९५ वर्षको उमेरमा निधन भएको छ। उहाँको बिहीबार बिहान करिब ३ बजे आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

जोशीको निधनसँगै लेकम क्षेत्रले धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा लामो समय योगदान दिएका एक अग्रज व्यक्तित्व गुमाएको छ। उहाँको निधनको खबर फैलिनासाथ स्थानीयवासी, आफन्त, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

धनदेव जोशी लेकम गर्खामा ज्योतिष विद्यामा विशेष दख्खल भएका व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले दशकौँसम्म स्थानीय बासिन्दाको चिना (जन्मकुण्डली) निर्माण गर्ने, ग्रहदशा विश्लेषण गर्ने तथा धार्मिक परम्पराअनुसार भविष्यवाणी र परामर्श दिने कार्य गर्दै आउनुभएको थियो। लेकम क्षेत्र मात्र होइन, दार्चुलाका विभिन्न गाउँका साथै छिमेकी जिल्ला र भारतका सीमावर्ती क्षेत्रबाट समेत मानिसहरू उहाँसँग ज्योतिषीय परामर्श लिन आउने गरेका थिए।

उहाँ लटिनाथ तथा ऐडिबाग मन्दिरका भरण्याका रूपमा धार्मिक परम्परा, पूजा–आराधना र संस्कार संरक्षणमा निरन्तर सक्रिय रहनुभएको थियो। स्थानीय धार्मिक गतिविधि, पर्व–उत्सव तथा मन्दिर व्यवस्थापनमा उहाँको महत्वपूर्ण भूमिका रहेको स्थानीयवासी बताउँछन्।

ज्योतिषका अतिरिक्त उहाँ समाजसेवी तथा बौद्धिक व्यक्तित्वका रूपमा पनि सम्मानित हुनुहुन्थ्यो। गाउँमा देखिने सामाजिक विवाद समाधान, धार्मिक परामर्श, संस्कार तथा परम्पराको संरक्षणमा उहाँले पुर्‍याएको योगदानका कारण सबै पुस्ताका मानिसहरूको सम्मान र विश्वास जित्न सफल हुनुभएको थियो।

उहाँको जीवनशैली सरल, अनुशासित र सेवाभावले भरिएको थियो। धार्मिक आस्था, नैतिक मूल्य र समाजप्रतिको समर्पणका कारण उहाँ लेकम क्षेत्रका धेरैका लागि अभिभावक तथा मार्गदर्शक व्यक्तित्वका रूपमा स्थापित हुनुभएको थियो। उहाँले दिएका धार्मिक शिक्षा, सुझाव र जीवनदर्शन आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत रहने स्थानीयको भनाइ छ।

उहाँको निधनप्रति विभिन्न सामाजिक, धार्मिक तथा स्थानीय व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै उहाँको योगदानको उच्च मूल्याङ्कन गरेका छन्। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने क्रम जारी रहेको छ।

धनदेव जोशीको निधनले लेकम क्षेत्रले एक अनुभवी ज्योतिष, धार्मिक अभियन्ता र समाजका अभिभावक व्यक्तित्व गुमाएको स्थानीयवासीले बताएका छन्। उहाँले समाजमा पुर्‍याएको योगदान र छोडेर जानुभएको धार्मिक तथा सांस्कृतिक विरासतलाई स्थानीय समुदायले लामो समयसम्म स्मरण गर्ने विश्वास व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्