साउनमा पनि घट्यो बैंक निक्षेपको ब्याजदर, अधिकांश बैंकले पुरानै दर कायम गरे

काठमाडौं – वाणिज्य बैंकहरूले साउन महिनाका लागि निक्षेपमा दिने ब्याजदर थप घटाएका छन्। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट आएको हो। नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतबाट घटेर ४.१६७ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत निक्षेपको औसत ब्याजदर पनि ३.१८ प्रतिशतबाट घटेर ३.११६ प्रतिशतमा कायम भएको छ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार २० मध्ये १३ वटा वाणिज्य बैंकले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्। नेपाल बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर यथावत् राख्दै संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्‍याएको छ। अन्य केही बैंकले भने ब्याजदर सामान्य रूपमा घटाएका छन्।

साउन महिनाका लागि प्रकाशित दरअनुसार नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो। यता, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ३.८५ प्रतिशत ब्याजदर तोकेका छन्, जुन सबैभन्दा कम रहेको छ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता, कर्जाको सुस्त माग तथा वित्तीय बजारको अवस्थाका कारण पछिल्ला महिनाहरूमा निक्षेपको ब्याजदर लगातार घट्ने क्रम जारी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्