सिटिजन्स बैंक मोहन्याल शाखाद्वारा दुई विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

कैलाली-  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, मोहन्याल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  कार्यक्रमअन्तर्गत मोहन्याल गाउँपालिकाका दुई विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। आइतबार आयोजित कार्यक्रममा शाखा प्रबन्धक नरेन्द्र सिंह धामीको उपस्थितिमा श्री भृकुटी माध्यमिक विद्यालय र श्री मोहन्याल आधारभूत विद्यालयलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रमअन्तर्गत श्री भृकुटी माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको शैक्षिक तथा सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने उद्देश्यले खेलकुद सामग्री र पठनपाठन सामग्री प्रदान गरिएको छ। त्यस्तै श्री मोहन्याल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई अध्ययनलाई सहज बनाउन विद्यालय ब्याग वितरण गरिएको बैंकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रबन्धक नरेन्द्र सिंह धामीले बैंकले वित्तीय सेवा प्रदान गर्नुका साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा पनि निरन्तर योगदान दिँदै आएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा सानो भए पनि सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय अभिभावकहरूले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको अध्ययन वातावरण सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सञ्चालन गरेको उक्त सामाजिक उत्तरदायित्व कार्यक्रमले स्थानीय विद्यालयसँगको सहकार्यलाई थप मजबुत बनाउनुका साथै विद्यार्थीहरूको शैक्षिक विकास र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्