काठमाडौं – रसुवाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई नेपाल व्यापार संघको नेतृत्वमा राहत सामग्री सहयोग गरिएको छ । संघले मानव सेवा आश्रममार्फत नुवाकोटको बट्टार क्षेत्रमा रहेका बाढीपीडितका लागि विभिन्न राहत सामग्री पठाएको हो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रमका प्रतिनिधिका रूपमा बसन्त खड्काको उपस्थिति रहेको थियो । नेपाल व्यापार संघका तर्फबाट अध्यक्ष गिरिराज पोखरेल, महासचिव ज्योति कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष जयकृष्ण शर्मा तथा महिला सचिव सुशिला चौलागाईंको रोहवरमा राहत सामग्री हस्तान्तरण गरिएको हो ।
युवा ज्योतिष तथा वास्तु रिसर्च अनिल थापाले राहतमा पूर्ण सहयोग गरेका छन् । राहत सहयोगअन्तर्गत नेपाल व्यापार संघका उपमहासचिव जगन्नाथ खनालले ७५० जोर जुत्ता उपलब्ध गराउनुभएको थियो । बाढी तथा विपद्का कारण प्रभावित नागरिकलाई दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले जुत्तासहित अन्य खाद्यान्न तथा लत्ताकपडासमेत सहयोग गरिएको संघले जनाएको छ । संघका अनुसार राहत सामग्रीमा चाउचाउ, बिस्कुट, चिउरा तथा विभिन्न प्रकारका लत्ताकपडासमेत रहेका छन् । बाढीका कारण घरवार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सामग्री नुवाकोट पठाइएको हो ।
प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला निजी क्षेत्र तथा सामाजिक संघसंस्थाले समेत पीडितको साथमा उभिनुपर्ने आवश्यकता रहेको नेपाल व्यापार संघले जनाएको छ । विपद्को समयमा पीडित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले संघले राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । नेपाल व्यापार संघले आगामी दिनमा पनि विपद् प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी राहत सामग्री संकलन तथा वितरणलाई निरन्तरता दिने जनाएको छ । संघले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विपद्मा परेका नागरिकको सहयोगमा हातेमालो गर्ने बताएको छ ।



