रसुवाबाट आएको भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै नेपाल व्यापार संघले तेस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ। संघका अध्यक्ष गिरिराज पोखरेलको नेतृत्वमा गएको टोलीले विदुर, त्रिशूली तथा देवघाट क्षेत्रको अनुगमन गरी बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था तथा तत्काल आवश्यक राहतका विषयमा जानकारी लिएको हो।
अनुगमनका क्रममा संघको टोलीले जिल्ला समन्वय समिति नुवाकोटका समन्वय प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीलाई भेटेर बाढी तथा पहिरोबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिएको थियो। सोही अवसरमा संघले करिब २२ लाख रुपैयाँ बराबरको राहत सामग्री जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरेको हो।राहत सामग्रीमा महिला, पुरुष तथा बालबालिकाका लत्ताकपडा, विभिन्न खाद्यान्न तथा रासन सामग्रीलगायतका आवश्यक सामग्री रहेका छन्। करिब एक ट्रक बराबरको उक्त राहत सामग्री प्रभावित क्षेत्रमा पुग्ने गरी वितरण गर्न संघले जिल्ला समन्वय समितिलाई अनुरोध गरेको छ।
संघका अध्यक्ष गिरिराज पोखरेलले विपद्का समयमा निजी क्षेत्र र व्यवसायी समुदायको सामाजिक उत्तरदायित्व अझ महत्वपूर्ण हुने बताउनुभयो। बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गरी राहतलाई लक्षित वर्गसम्म पुर्याउनुपर्ने उहाँको भनाइ थियो। “विपद्का बेला पीडित नागरिकको साथमा उभिनु हाम्रो सामाजिक दायित्व हो। राहत सामग्री वास्तविक प्रभावितसम्म पुग्ने गरी वितरण गर्न हामीले जिल्ला समन्वय समितिलाई अनुरोध गरेका छौँ,” अध्यक्ष पोखरेलले भन्नुभयो। भेटका क्रममा समन्वय प्रमुख ठकुरीले अति प्रभावित क्षेत्रमा उक्त सामग्री पुग्ने गरी व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष जयकृष्ण शर्माले बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्दा वास्तविक आवश्यकता र प्रभावित परिवारको अवस्थालाई प्राथमिक आधार बनाउनुपर्ने बताउनुभयो। उहाँले बाढीका कारण घरबार गुमाएका, व्यवसायमा क्षति पुगेका तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भोगिरहेका परिवारलाई तत्काल आवश्यकताअनुसार राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। विशेषगरी प्रभावित परिवारका लागि लत्ताकपडा, खाद्यान्न, खानेपानी तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सम्बन्धित निकायले समन्वयात्मक रूपमा राहत वितरणलाई प्रभावकारी बनाउनुपर्ने उहाँको धारणा छ। शर्माले विपद्को समयमा सबै प्रभावितलाई समान रूपमा राहत बाँड्नुको सट्टा बढी प्रभावित र तत्काल सहयोग आवश्यक पर्ने परिवार पहिचान गरी उनीहरूलाई प्राथमिकताका आधारमा राहत उपलब्ध गराउनुपर्ने बताउनुभयो।










