काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको छ। संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबई ले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सेवा सुरु गर्ने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई उक्त रुटमा नियमित उडानका लागि अनुमति प्रदान गरिसकेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार कम्पनीको उडान तालिका स्वीकृत भइसकेको छ र निर्धारित मितिदेखि दैनिक सेवा सञ्चालनमा आउनेछ।
फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन व्यवस्थाको विस्तृत निरीक्षण गरेको थियो। सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा भएको केही समयमै यो उपलब्धि हासिल भएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको नियमित उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनतर्फको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ। उहाँका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायत विश्वका ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुनेछ। “यो केवल एउटा नयाँ उडान सेवा थपिने विषय होइन, पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, व्यापारिक गतिविधिको विस्तार तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने महत्त्वपूर्ण अवसर हो,” आचार्यले बताउनुभयो।
झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन। यसअघि केही चार्टर उडान तथा हिमालय एयरलाइन्सले सञ्चालन गरेको पोखरा–ल्हासा उडान पनि लामो समय टिक्न सकेको थिएन। पर्यटन व्यवसायीहरूले भने फ्लाई दुबईको प्रवेशसँगै पोखराको पर्यटन उद्योगले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रत्यक्ष जोडिने अवसरले विदेशी पर्यटक आगमन बढ्नुका साथै पर्यटन, होटल, यातायात र सेवा क्षेत्रमा थप लगानी आकर्षित हुने अपेक्षा गरिएको छ।
वर्षौँदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखराका लागि फ्लाई दुबईको यो निर्णयलाई विमानस्थलको व्यावसायिक सफलताको पहिलो ठोस आधारका रूपमा हेरिएको छ। अब यसले अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई समेत पोखरा उडानका लागि आकर्षित गर्ने विश्वास गरिएको छ।





