काठमाडौँ – नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबिच कर्जा कारोबार गर्ने–गराउनेबारे सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कँडेल र राष्ट्रिय बिमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक डा. सिर्जना पन्तले हस्ताक्षर गरेकी छिन् ।
सम्झौताअनुसार बिमा कम्पनीमा कार्यरत स्थायी कर्मचारीले नेपाल बैंकको काठमाडौं शाखाबाट १५ लाख रुपैयाँसम्म विनाधितो कर्जा पाउनेछन् । यसबाट बिमा कम्पनीका कर्मचारीले एकै थलोबाट वित्तीय आवश्यक्ता पूर्ति गर्न सक्ने, समय बचत हुने तथा दुवै पक्षबिच संस्थागत सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ । देशभरमा यस बैंकका २३१ शाखा, २४६ एटिएमका साथै ६१ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।
बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा दिइरहेको जनाइएको छ । बैंकले छिटो–छरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।






