काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा तथा राति लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ। यससँगै हिमाली, पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ।
गएराति गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। विशेषगरी गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लेख्य वर्षा भएको महाशाखाले जनाएको छ।
प्रिमनसुनको सक्रियतासँगै मौसममा छिटो-छिटो परिवर्तन हुने भएकाले वर्षा, चट्याङ, हावाहुरी र असिनाबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।






