अपिहिमालमा धरमघर फ्याम ट्रिप सम्पन्न, नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धन

दार्चुला । अपिहिमाल गाउँपालिकाको आयोजनामा नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले धरमघर फ्याम ट्रिप कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको केन्द्र खण्डेश्वरीबाट सबैभन्दा नजिकको घुम्न मिल्ने गन्तव्यका रूपमा धरमघर क्षेत्रलाई विकास गर्न कार्यक्रम आयोजना गरिएको हो।

धरमघर क्षेत्र अपिहिमालबाट एक वा दुई दिनमै पुगेर अवलोकन गर्न सकिने सहज गन्तव्य मानिन्छ। यहाँ धार्मिक पर्यटनका लागि प्रसिद्ध तामाखानी भवानी मन्दिर रहेको छ, जुन समुद्री सतहबाट ३३५० मिटर उचाइमा अवस्थित छ।

यसैगरी ३३४० मिटर उचाइमा रहेको तामाखानी भ्यू प्वाइन्टबाट अपि हिमाल, नाम्पा हिमाल, जेठी बहुरानी, कपिल हिमाललगायत हिमश्रृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

धरमघर क्षेत्रभित्र पर्ने सुपैते पाटन, धरमघर पाटन, मकारचुली, धुल्लेख पाटन, रानीसैन पाटन तथा मुना पाटन प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलहरू हुन्। धुल्लेख पाटनबाट भारतको पञ्चाचुली हिमाल श्रृंखला तथा अपि हिमश्रृंखलाका हिमाल नजिकैबाट देख्न सकिन्छ।

घुम्न आउने पर्यटकका लागि भेडीगोठमार्फत खानबस्नको सुविधा रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरेले अपिहिमाल लाई प्राकृतिक, धार्मिक र साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने बताउनुभयो। उहाँले यसबाट स्थानीय आयआर्जन वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्