काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आजदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त गरेको हो।
सात वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याजदर पाउनेछन्। प्रति कित्ता १ हजार रुपैयाँ अङ्कित मूल्य रहेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। आवेदन छिटोमा वैशाख १० गतेसम्म र ढिलोमा वैशाख २१ गतेसम्म खुला रहनेछ।
कूल निष्काशनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिनेछ। यसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ९ लाख ५० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
उक्त ऋणपत्रलाई केयर रेटिङ नेपाल ले ‘CARE-NP A+’ रेटिङ प्रदान गरेको छ। बैंकको अधिकृत पूँजी ३० अर्ब रुपैयाँ रहेको छ भने जारी तथा चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको जनाइएको छ।






