प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको सशक्त उदय, १६ क्षेत्रमा विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ले विभिन्न १६ निर्वाचन क्षेत्रमा प्रभावशाली जित दर्ता गरेको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले शहरी क्षेत्रदेखि तराईसम्म उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै प्रमुख दलहरूलाई चुनौती दिएको देखिएको छ।

मोरङ–६ मा रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी छन्। उनले डा. शेखर कोइराला (नेपाली कांग्रेस) लाई पराजित गरेकी हुन्, जसले १२ हजार ८५० मत प्राप्त गरे। त्यसैगरी धनुषा–३ मा मनिष झा ४३ हजार १४२ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी विमलेन्द्र निधि (नेपाली कांग्रेस) ले १५ हजार ९५२ मत प्राप्त गरे। कास्की–३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी हुँदा काठमाडौं–१० मा प्रदीप विष्ट ३७ हजार ४६९ मत ल्याएर निर्वाचित भएका छन्।

त्यसैगरी मोरङ–४ मा सन्तोष राजवंशी ३६ हजार ८५९ मतसहित विजयी भए। काठमाडौं–९ मा डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित निर्वाचित भएका छन् भने बाँके–१ मा सुरेशकुमार चौधरी ३२ हजार ७९२ मतसहित विजयी भए। कास्की–२ मा उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भए भने काठमाडौं–५ मा सस्मित पोखरेल ३० हजार ७३७ मतसहित निर्वाचित भएका छन्।

त्यस्तै काठमाडौं–४ मा पुकार बम २९ हजार १४२ मत, स्याङ्जा–१ मा धनञ्जय रेग्मी २९ हजार ७१ मत, काठमाडौं–७ मा गणेश पराजुली २७ हजार ८०५ मत र काठमाडौं–६ मा शिशिर खनाल २७ हजार ७११ मतसहित विजयी भएका छन्। यसैगरी काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित निर्वाचित भएका छन् भने काठमाडौं–३ मा राजुनाथ पाण्डे १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन्।

काठमाडौं–१ मा रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित निर्वाचित भएकी छन्। यस निर्वाचन परिणामले देशका विभिन्न क्षेत्रमा मतदाताले वैकल्पिक राजनीतिक शक्तिप्रति विश्वास देखाएको विश्लेषण गरिएको छ। नयाँ अनुहार र फरक राजनीतिक शैली प्रस्तुत गरेको रास्वपाले परम्परागत दलहरूको बलियो पकड भएका क्षेत्रमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्