‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ’: गगन थापा

काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको प्रसंगलाई लोकतन्त्रमा खुला संवाद र असहमतिका लागि आवश्यक सार्वजनिक थलोको प्रतीकका रूपमा व्याख्या गरे। उनले खुलामञ्च काठमाडौंको एउटा चौर मात्रै नभएको उल्लेख गर्दै नेपाली राजनीतिक आन्दोलनमा यसको महत्वपूर्ण भूमिका रहेको बताए। बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायतका नेताले यहीँबाट सम्बोधन गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताए।

थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो। सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग निरन्तर संवाद गर्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रमा जनताको आवाज बन्द गर्न नहुने बताए। संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले यसलाई थप खुला, उत्तरदायी र संवादमुखी बनाउनुपर्ने उनले बताए। ‘संसद अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने।

थापाले पहाडदेखि तराईसम्म तथा भौतिक स्थानदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताए। नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर निर्माण गर्नुपर्ने उनको भनाइ थियो। पार्टीभित्र समेत प्रश्न, आलोचना र असहमतिलाई सहज रूपमा स्वीकार गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै उनले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। ‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने। फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताउँदै थापाले लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने र राजनीतिक दलको आन्तरिक संरचना तथा कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राखे। ‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ उनले भने।

थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिका कारण नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको टिप्पणी गरे। प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति निरन्तर नेतृत्वमा दोहोरिने र मन्त्री बनेका व्यक्ति पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको उनको भनाइ थियो। ‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ उनले भने, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’

उनले लामो राजनीतिक संघर्ष र परिवर्तन भए पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको बताए। रोजगारी सिर्जना, युवा पलायन रोक्ने तथा जनताको जीवनस्तर सुधार्ने विषयमा अब सबै राजनीतिक दलले गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। ‘३५ वर्षदेखि युद्ध किन व्यहोर्‍यौँ ? शान्ति प्रक्रियामा पनि यहीँ भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तिए। किन रोजगारी भएन ? युवा किन पलायन भयो ?’ थापाले प्रश्न गरे। राजनीतिक परिवर्तनसँगै आर्थिक तथा सामाजिक रूपान्तरणलाई अघि बढाउनुपर्ने भन्दै उनले त्यसका लागि सबै राजनीतिक शक्ति गम्भीर हुनुपर्ने बताए।

थापाले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म अत्यधिक राजनीतिकरण भएको पनि बताए। फेसबुक, ट्विटरलगायतका माध्यममा हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले ‘अति राजनीति’ का कारण जनजीवनसमेत प्रभावित भएको बताए। राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै ‘भुसको आगो’ जस्तै फैलिँदै गएको बताउँदै थापाले त्यसले कुनै एउटा दल वा नेतालाई मात्रै नभई समग्र राजनीतिक प्रणाली र नेतृत्वलाई प्रभावित गरेको बताए। ‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उनले भने।

थापाले दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताए। बदलिँदो जनभावना र जनताको असन्तुष्टिलाई राजनीतिक दलहरूले समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको उनको भनाइ थियो। ‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ उनले भने। उक्त घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि प्रभावित भएको उल्लेख गर्दै थापाले त्यसबाट पाठ सिकेर कांग्रेसले आफूलाई रूपान्तरण गर्न विशेष महाधिवेशनमा गएको बताए। कांग्रेसले अब खुला संवाद, जनताका प्रश्नको सम्मान, आन्तरिक लोकतन्त्र र बदलिँदो राजनीतिक परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्दै अघि बढ्नुपर्ने उनको धारणा थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्