काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा अभूतपूर्व जनलहर देखिएको छ। यस पटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा अन्य स्थापित दलहरू धेरै ठाउँमा रक्षात्मक अवस्थामा पुगेका छन्।
पहिले कांग्रेस र एमालेका गढ मानिने निर्वाचन क्षेत्रहरूमा समेत रास्वपाले सहज जित निकाल्न थालेपछि राजनीतिक समीकरण नै बदलिएको देखिन्छ। विशेषगरी काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा रास्वपा अग्रस्थानमा रहेको छ। काठमाडौं–१, ३, ४, ५, ६, ७ र १० मा रास्वपाले जित हासिल गरिसकेको छ भने अन्य क्षेत्रमा पनि अग्रता कायम राखेको छ। कास्कीका दुई निर्वाचन क्षेत्रमा पनि रास्वपाले विजय हात पारेको छ।
यस निर्वाचनमा देखिएको रास्वपाको लहरले धेरै ‘हेभीवेट’ नेताहरूलाई पराजित बनाएको छ। पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति गगन थापा समेत आफ्ना निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धामा परेका खबरहरू सार्वजनिक भइरहेका छन्।
अहिलेसम्म सार्वजनिक भएको परिणामअनुसार नेपाली कांग्रेसका दुई बहालवाला महामन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ र मोरङ क्षेत्र नम्बर ४ को परिणामले स्थापित दलका प्रभावशाली नेताहरूको राजनीतिक साखमा ठूलो धक्का लागेको विश्लेषण हुन थालेको छ।
काठमाडौं–५ मा सस्मित पोखरेलको सानदार जित
यसपटकको चुनावमा सबैभन्दा बढी चासोको केन्द्र बनेको काठमाडौं–५ मा रास्वपाका उम्मेदवार सस्मित पोखरेल विजयी भएका छन्। पोखरेलले ३० हजार ७३७ मत प्राप्त गर्दै शानदार जित हासिल गरे।
उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले ९ हजार १५९ मत मात्र प्राप्त गरे। त्यस्तै नेकपा एमालेका प्रभावशाली नेता ईश्वर पोखरेल ४ हजार ७०१ मत मा सीमित भए।
राप्रपाका कमल थापा लगायतका शीर्ष नेताहरू समेत मैदानमा रहेको यस क्षेत्रमा सस्मित पोखरेलले सबै प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पार्दै संसदीय यात्राको सुरुआत गरेका छन्।
२०७९ को निर्वाचनमा भने यही क्षेत्रमा कांग्रेसका प्रदीप पौडेल १५ हजार २६९ मतसहित विजयी भएका थिए। तर यस पटक रास्वपाको लहरले पुराना दलको वर्चस्व तोडिदिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चुनावी अभियानमा सक्रिय रहेका पोखरेलले यसपटक तीन ‘हेभीवेट’ नेताहरूलाई हराउँदै नयाँ राजनीतिक सन्देश दिएका छन्।
मोरङ–४ मा सन्तोष राजवंशीको एकतर्फी जीत
मोरङ क्षेत्र नम्बर ४ मा पनि परिणाम निकै अप्रत्याशित देखियो। रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मत सहित विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे ले १२ हजार ८१८ मत मात्र प्राप्त गरे। यसरी राजवंशीले घिमिरेलाई २८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्।
त्यसैगरी माओवादी केन्द्रका अमनलाल मोदी ले १० हजार ७६२ र नेकपा एमालेका जीवन घिमिरे ले ६ हजार ९३३ मत मात्र प्राप्त गरे।
सामान्य परिवारबाट आएका राजवंशीले चुनावअघि आफूलाई कमजोर प्रतिस्पर्धी मानिएको भए पनि परिणाममा भने स्थापित दलका शीर्ष नेताहरूलाई निकै फराकिलो अन्तरले पछि पार्दै जित हात पारे।







