लेकममा पहिलो पटक राष्ट्रिय प्रसारण लाईनको विद्युत जडान, अध्यक्ष भन्छन्, ‘छिट्टै लेकम उज्यालो बन्छ’

दार्चुला – बुधबारबाट लेकम गाउँपालिकाको वडा नं. ५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत सुचारु भएको छ ।

लेकम गाउँपालिकामै पहिलो पटक राष्ट्रिय प्रसारण लाईनको विद्युत सुचारु भएको हो । गाउँपालिकाको वडा नं. ५ मा रहेको बैकल्पिक उर्जा अन्तरगतको विद्युत चट्याङका कारण विग्रिएपछि सोही पोल र तारमा विद्युत प्रभाव हुने गरि प्रसारण लाईन जोडिएको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले उपहार खबरलाई जानकारी दिए । सो विद्युतबाट सेवा प्रभाव गरिरहेका बैंक, स्वास्थ्य चौकी, विद्यालय लगायतका सेवा प्रदायक संस्थाहरुमा विद्युत नभएकाले समस्या भएको र अब राष्ट्रिय प्रसारण लाइनको विद्युत जोडिए पछि सहज हुने अध्यक्ष जोशीले बताए । बजेट अभाव र कोरोना महामारीका कारण गाउँपालिका भरि विद्युत बाल्ने योजना अधुरो रहेको पनि अध्यक्ष जोशीले स्पष्ट पारे ।

उनले भने “बजेटको अभावमा हामीले गाउँपालिकाको सबै ठाउँमा विद्युत पुर्याउने योजना पुरा गर्न सकेनौ, त्यसमै कोरोना महामारी पनि थपियो यसले गर्दा काममा ढिलाई भयो तर आगामी आर्थिक वर्षमा गाउँपालिकाको हरेक ठाउँमा विद्युत बाल्ने योजना छ ।” लेकम गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि अध्यक्ष जोशीले आग्रह गरे । गाउँपालिकामा हुने हरेक विकस निर्माणका काममा सबैले राजनीतिक स्वार्थभन्दा माथि उठ्नु पर्ने अध्यक्ष जोशीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्