नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को तयारी पूरा

काठमाडौं । नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को तयारी पूरा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो ।

स्वदेशी उत्पादनको प्रवर्द्धगर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुँदैछ ।

मुलुकभरका झण्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नारा रहेको छ ।

नेपालका तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धनसमेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी र बीटुजी जस्ता अन्तरक्रिया, छलफल र खाना महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहने अध्यक्ष सिंहले बताए ।

प्रदर्शनीमा नेपाल मौरीपालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन व्यवस्था गरिने महासंघले जनाएको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहनेछ । प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुनेछ । दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुर्पयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।

मेलामा काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटनलगायतका सेवा प्रदायक संघसंस्थाहरु, वैकल्पिक/नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्