सुक्खा बन्दरगाहमा पैतीस सय कन्टेनर रोकिए

वीरगञ्ज – चैत ११ गतेदेखि जारी लकडाउनका कारण गन्तव्यसम्म जान नपाई खाद्यान्नलगायतका सामग्रीले भरिएका करिब तीन हजार पाँच सय कन्टेनर वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा थन्किएर बसेका छन् । यसबाहेक विशाखापाटनम बन्दरगाहमा २५०० सय र कोलकोत्तामा २३० वटा कन्टेनर रोकिएका छन् ।

कन्टेनरमा आएका सामग्री या कन्टेनर नै लगेर खाली गर्न नसकिएको तर कन्टेनर आउने क्रम जारी रहेकाले एक हजार पाँच सय कन्टेनर राख्न सकिने क्षमता रहको यो सुक्खा बन्दरगाहमा पछिल्लो समयमा यति धेरै कन्टेनर थन्किएका हुन् ।
तेस्रो मुलुकबाट आयातीत सामग्री बोकेर भारतको कोलकत्ता र विशाखापटनम बन्दरगाहबाट रेलमार्ग हुँदै कन्टेनर वीरगञ्जको सुक्खा बन्दरगाह आउने गर्दछन् । मरिच, केराउ, तोरी, मकै, कुखुराको दाना, हरियो तथा पहँेलो मटर, खाद्यान्न, रासायनिक मल, तेल, फलाम, स्टिल उद्योगका कच्चा पदार्थ रेल मार्गबाट वीरगञ्जको सुख्खा बन्दरगाहमा आउने गर्दछन् तर लकडाउनका कारण यहाँबाट अन्यत्र सामग्री लैजान ट्रक तथा कन्टेनर बोक्ने लरीलगायतका भाडाका सवारीसाधन अभावमा बन्दरगाहमा नै सामग्री अड्किएपछि खाली हुन नपाएका कन्टेनर पनि थन्किएका हुन् ।

विगत एक महिनादेखि जारी लकडाउनका कारण बन्दरगाह भन्सार कार्यालयमा सामान राख्ने ठाउँको अभाव देखिएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी जगदीश पुर्वेले बताए । भारतको कोलकत्ता तथा विशाखापटनम बन्दरगाहबाट दैनिक दुईदेखि तीनवटा रेल आउने गरेका तर गोदाम तथा ठाउँको अभाव भएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी पुर्वेले बताए ।

दैनिक २५० देखि ३०० सय कन्टेनर सुक्खा बन्दरगाहबाट निस्कने गरेकामा हालका दिनमा १२० देखि १५० वटा कन्टेनर मात्र बाहिरिने गरेकाले प्रतिदिन बन्दरगाहमा कन्टेनरको सङ्ख्या बढ्दै गएको हो । कन्टेनर धेरै भएकाले तीनदेखि चार तहमा कन्टेनर भण्डारण गरिएको तर कन्टेनर डेलिभरी दिँदा तीन, चार तहमुनिको निकाल्न अझ समस्या पर्ने गरेकाले कामकाजमा बढी समय र खर्च लाग्ने गरेको सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमारले बताए ।
लकडाउनका कारण मुलुक बन्द रहेकाले बाटोमा खाना खाने होटल तथा पन्चर बनाउने पसल बन्द अवस्थामा रहनु, गाडी बिग्रिएमा बनाउने मेकानिक र मेसिनरी पार्ट नपाइनुजस्ता कारणले गर्दा लामो दूरीका लरी चलाउने चालकले ट्रक तथा लरी नलैजाने गरेको बताइन्छ । तेस्रो मुलुकबाट रेलमार्ग हँुदै सिर्सिया सुक्खा बन्दरगाहमा खाद्यान्नलगायतका सामान बोकेका कन्टेनर निर्बाध रूपमा दैनिक भित्रिने गरेका छन् ।
तेस्रो मुलुकबाट वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा आउने सामानमध्ये ३० प्रतिशत सामान चीनबाट तथा ७० प्रतिशत सामान अमेरिका, क्यानडा, थाइल्यान्ड, मलेसिया, दुबईलगायत विभिन्न मुलुकबाट आउने गरेको सुक्खा बन्दरगाह भन्सारले जनाएको छ । गोरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्