काठमाडौँ महानगरले अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको ‘राजपुर गाउँपालिका’ र दाङ् जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो । यो रकम महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट पठाइनेछ ।  पालिकाहरुले महानगरपालिकासँग सहयोग माग गरेका थिए ।

गुल्मी जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ को हाटबास क्षेत्रमा वैशाख १६ गते आगलागी भएको थियो । आगलागीमा परेर २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका छन् ।

यस्तै, वैशाख ८ र ९ गते इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको थियो । यसबाट २८ वटा घर, ५१ वटा गोठ, १३ वटा भैँसी, ७८ वटा बाख्रासहित धन सम्पत्ति, पशु चौपायाको क्षति भएको छ ।  सहयोग रकम गाउँपालिकाहरुको प्रकोप व्यवस्थापन कोषमा पठाइनेछ ।

महानगरपालिकाले यस अघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

जरलहवा टोलमा वैशाख १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर १ सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए । सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्