नेपाल एयरलाइन्सका १९ चार्टर उडान, ‘आम्दानी कति भयो भन्न मिल्दैन’ : निगम

काठमाण्डौ – नेपाल एअरलाइन्सले पछिल्लो एक महिनामा आन्तरिक र बाह्य गरेर १९ वटा चार्टर्ड उडान गरेको छ । सरकारले गएको चैत १० गतेदेखि यात्रु बोकेर आउने जहाजलाई प्रतिबन्ध लगाएको छ । तर यस बीचमा विभिन्न देशले यात्रु ओसार्न नेपालबाट चार्टर्ड उडान गरे भने केही कार्गो उडान पनि भए ।

नेपाल एअरलाइन्सले पनि आन्तरिकतर्फ ११ वटा उडान गर्‍यो । विभिन्न ठाउँमा अलपत्र परेका विदेशी पर्यटकको उद्धार, औषधि तथा कोरोनाको परीक्षणको लागि नमुना ल्याउन पनि उडान भर्यो । आन्तरिकतर्फ नेपाल एअरलाइन्सले लुक्लाको लागि सात वटा र नेपालगञ्जको लागि चार वटा चार्टर्ड उडान गरेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

यस्तै अन्तर्रा्ष्ट्रियतर्फ नेपाल एअरलाइन्सले आठ वटा उडान गरेको छ । नेपाल एअरलाइन्सले चीनको ग्वान्झाउमा चार वटा उडान गरेको छ । यी सबै मेडिकल सामग्री ल्याउन प्रयोग भएका थिए, चार वटै उडान वाइडबडी जहाजले गरेका थिए ।

यस्तै वाइडबडीमार्फत नै एउटा चार्डर्ड उडान अस्ट्रेलियाको ब्रिस्वेनको लागि भएको थियो भने अर्को जापानको नारिताको लागि भएको थियो ।

साथै दुई वटा चार्टर्ड उडान न्यारोबडी जहाजमार्फत भएका छन् । एउटा जहाज ब्राजिलका नागरिक बोकेर भारतको दिल्लीको लागि उडान गरेको थियो भने एउटा उडान बङ्गलादेशको ढाकाको लागि भएको थियो ।

‘आम्दानी कति भयो भन्न मिल्दैन’

अस्ट्रेलियाको ब्रिस्वेन उडानको क्रममा नेपाल एअरलाइन्सले सिधै चार्टर्ड उडान गर्नुपर्नेमा एजेन्ट घुसाएर २७ लाख रुपैयाँभन्दा धेरै कमिसन खाएको भन्दै आलोचना भएको थियो । चौतर्फी आलोचनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनमा एजेन्टको कमिसन फिर्ता भएको थियो । अस्ट्रेलियाका लागि नेपाल वायुसेवा निगमले पाँच करोड ७१ लाख १२ हजार रुपैयाँमा चार्टर्ड उडान गरेको थियो ।

तर अन्य १८ वटा उडानको भाडाको बारेमा अहिले भन्न नमिल्ने निगमले जनाएको छ ।

‘यो आन्तरिक विषय हो, हाम्रो चार्टर्ड रेट र हामीले गरेको आम्दानी अहिले बाहिर भन्न मिल्दैन’, निगमकी प्रवक्ता अर्चना खड्काले भनिन् ।

उनले माथिल्लो निकायबाट यो कुरा बाहिर नलैजानु भन्ने आशयको कुरा गरेपछि हामीले निगमका वाणिज्य निर्देशक टङ्कनिधि दाहाललाई पनि सम्पर्क गर्‍यौं । उनले पनि यो विषय फाइनान्सलाई मात्रै थाहा हुने र आफूले भन्न नसक्ने जानकारी दिए ।

लकडाउन अवधिभर ३४ वटा चार्टर्ड उडान

लकडाउनको एक महिनाको अवधिमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३४ वटा अन्तर्रा्ष्ट्रिय उडान भएका छन् । यी सबै चार्डर्ड उडान हुन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार सबैभन्दा धेरै कतार एअरले १० वटा उडान गरेको छ । नेपाल एअरलाइन्सले आठ वटा, बेलायतको टाइटनले तीन वटा, कोरियन एअरलाइन्सले दुई वटा उडान गरेका छन् ।

यस्तै अरबको इतिहाद एअर अरेबिया, चेक रिपब्लिकको चेक एअर, मलेसियाको मलेसियन र मालिन्दो, भुटानको ड्रुक एअर, रुसको रोयल फ्लाइट एअर, अमेरिकी दूतावासको सामान लिएर आएको डिप्लोम्याटिक उडान, श्री एअरलाइन्सको सुडान उडान र बुद्ध एअरको ढाका उडान गरी ३४ वटा उडान भएका छन् ।
उज्यालो अनलाइनबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्