गरिमा शर्मालाई फिल्म डेब्युमा सकस :घोषणामा नाम आउँछ, सुटिङमा अरु नै

काठमाडौँ  – म्युजिक भिडियोबाट चलचित्रमा छलाङ लगाउनेमा गरिमा शर्माको पनि नाम थियो ।

अघिल्लो पुस्ताका हिरोइनहरु विवाह गरेर घरजममा व्यस्त हुन थालेपछि निर्माताहरु नयाँ हिरोइनको खोजीमा थिए जसमध्ये धेरैको आँखा गरिमा शर्मामा थियो । नभन्दै धेरै निर्माताले गरिमालाई लिएर फिल्म बनाउने घोषणा पनि गरे । तर अहिलेसम्मको अवस्था के छ भने गरिमाले जम्मा एउटा फिल्ममा अभिनय गरिन्, बाँकी भने समाचारमै सीमित रहे ।

गरिमाले डेब्यु गरेको पहिलो फिल्म ‘लन्डन टु पेरिस’ थियो । तर नेपालबाट लन्डनसम्म पुगेको यो फिल्मको गाडी पेरिस पुग्न नसक्दा अलपत्र छ । अर्थात् यो फिल्मको लन्डनको भागको सुटिङ त सकिएको छ तर पेरिसको भाग बाँकी छ । यही कारण उनको डेब्यु फिल्म अड्किएकै अवस्थामा छ ।

यसपछि गरिमा नाम तीनवटा फिल्ममा आयो । उनले अभिनय गर्ने भनेर समाचारमै आएका फिल्म थिए, दौँतरी, ह्रस्वदीर्घ र राजमहल । आर्यन सिग्देलको पनि अभिनय रहने भनिएको दौँतरी अहिलेसम्म फ्लोरमै निस्किन सकेको छैन भने गरिमा ह्रस्वदीर्घबाट बाहिर भइसकेकी छिन् । स्रोतका अनुसार यो फिल्ममा गरिमा नीता ढुंगानाको दिदीको रुपमा अभिनय गर्नेवाला थिइन् । तर यो फिल्मको सुटिङ बीचैमा रोकिए । अहिले चितवनतिर यो फिल्मको सुटिङ भइरहेको छ तर फिल्ममा गरिमा छैनन् ।

यसपछि केही दिनसम्म गरिमाको नाम राजमहलमा पनि आएको थियो । रमेश उप्रेती र आँचल शर्माको मुख्य भूमिका रहने फिल्ममा गरिमाको पनि अभिनय रहने चर्चा थियो । तर घोषणा हुँदा गरिमाको नाम हट्यो । बरु टिकटकर मिस पबी फिल्ममा डेब्यु गर्ने घोषणा भयो । यसरी हेर्दा गरिमालाई अभिनेत्री बन्न गाह्रै भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्