हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिष्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

काठमाडौँ, २५ मंसिर । नेपाली चलचित्र ‘गोर्खा वारियर’ले एकपछि अर्को इतिहास बनाइरहेको छ । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल चलचित्रले पुनः नयाँ इतिहास बनाएको छ । यो चलचित्र पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको छ ।

अर्थात् नेपाली भाषाको चलचित्रले पहिलोपटक अवार्डमा प्रवेश पाएको हो । निर्देशक मिलन चाम्सले प्रवेश पाएर अन्तिम लिस्टमा छनोट भएपछि नोमिनेसन सार्वजनिक हुने जानकारी दिए । ‘हाम्रो विषय र कलाकार विश्वका ठुला चलचित्रसँग प्रतिष्पर्धा गर्न उभिनु नै हाम्रो जीत हो । हाम्रो विषयलाई विश्वले कति प्राथमिकता दिन्छ भन्ने तथ्यलाई गोर्खा वारियरले प्रस्ट्याईरहेको छ’,निर्देशक चाम्सले भने ।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो चलचित्र नेपाल भन्दा विदेशमा बढी चर्चित छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् ।

यही कारण बाफ्टामा चलचित्रले प्रवेश पाएको हो । निर्देशक चाम्सले बेलायतमा रहेको लन्डन सिनेआई प्रोडक्सन भएको कारण पनि बाफ्टामा प्रवेश पाईएको बताए । ‘हामी सफल हुनु वा असफल हुनु फरक पाटो हो । हामीले हाम्रो चलचित्रको स्तरीयता र विषयलाई त्यहाँ पुर्याएका छौं । आउँदो समयमा नेपाली चलचित्रलाई हेर्ने शैलीमा बाफ्टामा भिन्नता हुनेछ’,निर्देशक चाम्सले भने ।

गोर्खा वारियरले हलिउडका प्रसिद्ध चलचित्रहरु गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३, हार्ट अफ स्टोन, द स्केपर, बार्बी, मिसन इम्पोसिबल डेड रिकोनीङ पार्ट वान, इन्डियाना जोन्स एण्ड डायल अफ डेस्टीनि, जोन विक च्याप्टर ४, ड इक्युलाइजर ३ जस्ता चलचित्रसँग प्रतिष्पर्धा गरिरहेको छ । चलचित्रका अभिनेता रितेश चाम्ससँगै उल्लेखित चलचित्रका अभिनेता प्रतिष्पर्धामा छन् । यो नेपाली चलचित्रको लागि गौरवको विषय हो । गोर्खालीले रचेको इतिहास र विषयको महत्वलाई बुझेर चलचित्र तयार भएकाले पछिल्लो समय बाफ्टामा नेपाली चलचित्रले विश्व प्रसिद्ध चलचित्रकर्मीको ध्यान तानेको छ ।

 

गतवर्ष बाफ्टामा ‘आरआरआर’ र ‘गंगुवाई कठियावाडी’ जस्ता चलचित्र पहिलोचरणका लागि छनौट हुँदा भारतीय मिडियामा निकै चर्चा भएको थियो । जबकि उल्लेखित चलचित्रले दोस्रो चरणमा प्रवेश नै पाएनन् । सोही कारण पनि बाफ्टामा लङलिस्टका लागि चयन हुनु निकै गौरवको विषय मानिन्छ । अभिनेता रितेश चाम्सले पहिलो चलचित्रमार्फत नै यस किसिमको चर्चा पाउनु सपना झैँ महसुश भएको बताए ।

उनले भने,‘हाम्रो चलचित्रले पाइरहेको सम्मान र बनाईरहेको इतिहास मेरा लागि सोच भन्दा निकै माथि छ । अन्तर्राष्ट्रिय मिडियामा गोर्खा वारियरलाई दिइएको स्थानले हाम्रो गोर्खाली प्रतिको सम्मान झल्काउँछ । विशेषत डेब्यु चलचित्रमै मिलन चाम्स जस्तो राष्ट्रिय पुरस्कार विजेता निर्देशकसँग काम गर्न पाए । उहाँकै कारण यो सफलता सम्भव भईरहेको छ ।’

 

उनले डेब्यु चलचित्रमा अन्तर्राष्ट्रिय मिडिया पाइरहेको चर्चा सायदै नयाँ कलाकारले बनाउन सक्छन् । त्यसैले पनि उनले आफ्नो अभिनयको श्रेय निर्देशक चाम्सलाई दिएका छन् । किनकि निर्देशक चाम्स आफैँ पूर्व गोर्खा सैनिक भएकाले चलचित्रलाई तयार गर्न सकेका थिए ।

 

विदेशी चलचित्र उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले चलचित्रलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए ।

हलिउड र बलिउडका ठूला स्टारको चलचित्र प्रिमियर हुने सिनेवर्ल्डमा नेपाली चलचित्रको पहिलोपटक प्रिमियर भएको हो । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

 

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।

 

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्