अमेरिकाको चर्को दवावपछि भारत पछि हट्योः औषधिको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा

काठमाण्डौ – भारतले विभिन्न २४ प्रकारका औषधिजन्य कच्चापदार्थ तथा औषधिको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

भारत सरकारले विज्ञप्ति निकालेर कच्चापदार्थ तथा औषधिमा लगाएको प्रतिबन्ध फुकुवा गरेको बीबीसीले जनाएको छ ।

भारतले गएको महिना (मार्च)मा आफ्नै देशका लागि औषधि आवश्यक रहेको भन्दै प्रतिबन्ध लगाएको थियो । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वभर नै औषधिको आपूर्ति व्यवस्थामा असर परेको थियो ।

एक महिना भित्रै भारतले प्रतिबन्ध फुकुवा गर्नुको कारण भने स्पष्ट पारिएको छैन । तर अमेरिकाले दिएको दबाव थेग्न नसकेपछि प्रतिबन्ध फुकुवा गर्न भारत बाध्य भएको खबरमा उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले औषधि निर्यात गर्न नदिए कडा प्रतिक्रियाको सामना गर्नु पर्ने चेतावनी दिएपछि भारतले औषधिमा लगाएको प्रतिबन्ध फुकुवा गरेको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्