आर्थिक वृद्धिदर ५.३ मात्र हुने एडीबीको अनुमान

काठमाडौँ – कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैङ्क (एडीबी)ले प्रक्षेपण गरेको छ । शुक्रबार ‘नेपाल माइक्रोइकोनोमिक अपडेट’ जारी गर्दै एडीबीले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.३ मात्र हुने अनुमान गरेको हो । कोरोना सङ्क्रमणले थप असर पु¥याएमा यस्तो वृद्धिदर अझ कम हुने बैङ्कको आकलन छ ।
पछिल्लो परिस्थितिबाट आर्थिक वर्षको अन्तिम त्रैमासमा आन्तरिक माग घटाउने गरी विपे्रषण घट्ने सम्भावना रहेको पनि एडीबीले जनाएको छ । यस्तो परिस्थितिमा औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपर्ने एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले बतए। धानको उत्पादन कम हुँदा पनि आर्थिक वृद्धि कम हुनसक्ने उनको भनाइ छ ।
एडीबीको नयाँ तथ्याङ्कअनुुसार नेपालको मुद्रास्फीति अघिल्लो आवको ४.६ प्रतिशतबाट बढेर औसत ६ प्रतिशत पुग्ने उल्लेख छ । महामारीका कारण उत्पादन र आपूर्ति शृङ्खलामा आउने अवरोधका कारण मुद्रास्फीति बढ्ने एडीबीले जनाएको छ । कोभिड–१९ का कारण अस्थायी रूपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको छ । प्रतिवेदन अनुसार कोभिड–१९ को महामारीका कारण अवस्था थप चालू आवमा मुद्रास्फीति अहिले अनुमान गरिएभन्दा अझ बढी हुनसक्ने उल्लेख छ ।
एडीबीका अनुसार चालू आवको सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ । खासगरी भारतमा पाम तेल र अलैँचीको निर्यातसाथ भएको उच्च निर्यात वृद्धि र निर्माण सामग्री, सवारीसाधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा सङ्कुचन आएको छ । सुधारिएको व्यापार सन्तुलनले माघको अन्त्यसम्म चालू खाता घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब ५० करोड डलरबाट एक अर्ब डलरमा राख्न सहयोग गरेको छ । पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा गत आवको कुल गार्हस्थ उत्पादनको ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान छ ।
कोभिड–१९ चाँडै समाप्त हुने, कोभिडपछिका आर्थिक गतिविधि सुचारु हुने र मनसुन सामान्य रहने अनुमानका आधारमा एडीबीले आव आगामी आर्थिक वर्षको वृद्धिदर भने ६.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आगामी आवमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूरा हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउने एडीबीको अपेक्षा छ । प्रदेश र स्थानीय तहमा हुने उच्च खर्चले पनि आर्थिक वृद्धिलाई थप बल प्रदान गर्ने प्रतिवेदनमा उल्लेख छ । आर्थिक गतिविधि आगामीमा आवमा सामान्य बन्ने अनुमानका आधारमा मुद्रास्फीति औसत ५.५ प्रतिशत रहने एडीबीको अनुमान छ ।
आव २०७७/७८ (सन् २०२१)का सम्भाव्य जोखिममा कोभिड–१९ को महामारी निरन्तर नै रहेको अवस्थामा त्यसले अर्थतन्त्रलाई निकै नकारात्मक असर पार्नसक्ने सम्भावना रहेको एडीबीले जनाएको छ । असामान्य मनसुन र बाढी पहिरोजस्ता प्राकृतिक जोखिमले कृषि उपजमा कमी ल्याउनुका साथै पूर्वाधारमा क्षति पु¥याउन सक्ने आकलन पनि एडीबीको छ । प्रदेश र स्थानीय तहमा आयोजना र कार्यक्रमको कार्यान्वयन क्षमताको कमी विद्यमान रहँदा त्यसले तिनीहरूको खर्च कमजोर बनाउँछ । कोभिड–१९ को महामारीले विश्वव्यापी मागमा कमी ल्याउने छ र त्यसले वैदेशिक रोजगारीका लागि बाह्य आप्रवासनमा असर र नेपालको बाह्य क्षेत्रको स्थायित्वमा दबाब पार्ने पनि एडीबीले जनाएको छ ।

गाेरखापत्रअनलाइनबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्