रुससँग भइरहेको युद्धमा युक्रेनले ड्रोन उत्पादन बढायो

रुससँग भइरहेको युद्धमा अग्रमोर्चाबाट लडाइँका लागि माग बढ्दै गएपछि युक्रेनले आफूले गर्ने ड्रोन उत्पादन बढाएको जनाएको छ। युक्रेन सरकारले आयातसम्बन्धी कानुन खुकुलो बनाएको छ भने ड्रोनका पार्टपुर्जा तथा उपकरणमा लगाइँदै आएका करहरू हटाएको छ। ’द आर्मी अफ ड्रोन्स’ नामक एउटा सफल चन्दा सङ्कलन अभियानले ड्रोन उत्पादनको विस्तारमा सघाइरहेको छ। ’स्टार वार्स’का मार्क हमिलजस्ता हस्तीको सहयोगमा १०.८ करोड डलरभन्दा बढी रकम सङ्कलन भएको छ।

युद्धका लागि ड्रोनहरू खरिद गर्ने र बनाउने कामका साथै अग्रमोर्चामा लडाइँका लागि नयाँ पाइलटहरूको तालिममा सहयोग रकम खर्च गरिँदै छ। युक्रेनको राजधानी किएभको बाहिरी भागमा रहेको एउटा गोप्य स्थानमा ड्रोन पाइलटहरूको एउटा तालिम सत्र हेर्नका लागि हालै बीबीसीलाई निम्त्याइएको थियो। ड्रोनका पाइलटहरूका एक दर्जन टोलीले सैन्य लक्ष्य खोज्न एउटा चौरमा साना ड्रोनहरू उडाए।

प्रशिक्षक स्लाभाले उनीहरूको ड्रोन उडाउने शैली र जङ्गलमा बनाइएका ओडारमा कसरी लुकिराख्ने भन्नेबारे सुझाव दिइराखेका थिए।

“ड्रोन भनेका हाम्रा आँखा हुन्, हामी अतिक्रमणकारीलाई माथिबाट हेर्न सक्छौँ। अनि हामी हाम्रा हतियार मिलाउन तथा शत्रुलाई खोज्न र मार्न सक्छौँ,” उनले भने। लडाइँमा दुवैतिरका सैनिकहरू परम्परागत रूपमा भिडिओ खिच्न प्रयोग हुने गरेका तुलनात्मक रूपमा साना तथा सस्ता ड्रोनहरूमा अझ बढी निर्भर हुन थालेका छन्।
अग्रमोर्चाको लडाइँमा प्रायः देखिने गरेको डीजेआई म्याभिक नामक ड्रोनको मूल्य २,००० डलरभन्दा कम पर्छ। गत वर्ष त्यसको चिनियाँ उत्पादकले आफ्ना उत्पादनहरू “गैरसैनिक प्रयोगका लागि मात्र” भएको भन्दै युक्रेन र रुसमा त्यसको निर्यातमा प्रतिबन्ध लगायो। स्लाभाका अनुसार उक्त प्रतिबन्धका कारण गाह्रो भयो। तर युक्रेनले अझै हजारौँ सङ्ख्यामा ड्रोन आयात गरिरहेको छ।

यद्यपि आफूहरूलाई अझ बढी ड्रोन चाहिएको र अहिले उपलब्ध ड्रोनहरूलाई प्रायः खसाल्ने गरिएकोले अथवा विद्युतीय अस्त्रहरूमार्फत्‌ निष्क्रिय पारिने भएकोले नयाँ प्रकारका ड्रोनको विकास गर्न जरुरी रहेको उनी स्वीकार्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्