धारचुलाको सीमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्ने

काठमाडौं – भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ जना नेपालीहरुलाई धार्चुलामा क्वारेन्टाइनमा राखिएको छ । तीनदिनदेखि नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाकामा नियमित धर्ना दिदै आएका नेपालीलाई भारतीय पक्षले खाने बस्ने ब्यवस्था मिलाएको हो ।

नेपाल र भारतबीच अर्को सहमति नभएसम्मका लागि सीमा क्षेत्र आइपुगेका सबै नेपालीलाई क्वारेन्टाइनमा राख्ने सहमति भएको धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिलकुमार सुक्लले जानकारी दिए ।

धारचुला क्षेत्रमा चार ठाउँ र जौलजिबीमा एक ठाउँ गरी नेपालीलाई पाँच ठाउँमा राखिने छ । धारचुला क्षेत्रमा रहेको मिनि स्टेडियम, बालुवाकोटमा रहेको जिआइसीको भवन, गलातिमा रहेको फायर बिग्रेटको नयाँ भवन, महाकाली नदी किनारमा रहेको गौशाला र जौलजिवी क्षेत्रमा रहेको राम लिला मैदानमा नेपालीको व्यवस्थापन गरिएको हो ।

तत्कालका लागि भने मिनि स्टेडियम, गलाती र महाकाली नदी किनारमा बनेको गौशालामा नेपालीलाई राखिने छ । दार्चुलामा रहेका भारतीहरुको व्यवस्थापन नेपालले गर्ने सहमति भएको छ । सोमबार महाकाली नदीमा पौडी खेलेर भारतबाट आएका एकजनासहित तिन जनालाई सबन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिने भएको छ ।

पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ नेपाली चार दिनदेखि दार्चुला सीमामा अलपत्र परेका थिए । उनीहरुले महाकाली किनारामा नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्