माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु भएको छ ।
सोमबारबाट सुरु गरिएको परीक्षण न्यूनतम आठ दिनसम्म गर्नुपर्ने भए तापनि निरन्तर आगामी २२ गतेसम्म गरिने तालिका बनेको आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो दिन अर्थात् सोमबार बाँधमा चार मिटर पानी जम्मा गरिनेछ । त्यसपछि क्रमशः दुई÷दुई मिटर प्रतिदिन पानी थप्दै लगिने छ । हरेक गेट बन्द गरेर बाँधमा पानी जम्छ कि जम्दैन परीक्षण गरिन्छ । बाँध, गेट र इन्टेक समेतका संरचनाले काम गरे नगरेको पनि थाहा हुन्छ । बाँधको परीक्षणपछि बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर)मा पानी भरेर परीक्षण गरिन्छ ।
आयोजनाको बाँधको दायाँतिरको भाग गत २०७२ वैशाखको भूकम्पले १७ इञ्च भासिएको छ । यसरी भासिएपछि अमेरिकाबाट विशेषज्ञ समेत झिकाएर अध्ययन गराइएको थियो ।
विशेषज्ञको सुझाव अनुसार बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरिएको थियो ।
बाँधको ६० मिटर लम्बाइ र २२ मिटर उचाइ रहेको छ । बाँधको सतहमुनि सात मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ छ । ६० मिटर लम्बाइमा डिस्यान्डरमा जाने चारवटा गेट रहेका छन् भने नदीको पानी बाहिर पठाउन चारवटा गरी आठवटा गेट रहेका छन् ।
आयोजनामा दुई सय मिटर लम्बाइका दुईवटा डिस्यान्डर बेसिन रहेका छन् । दुवैमा पालैपालो पानी भरेर परीक्षण गर्न लागिएको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिनुभयो ।
यो परीक्षणपछि सुरुङको परीक्षण क्रमशः गर्दै जाने आयोजनाको कार्ययोजना रहेको छ । अहिले हेडरेस सुरुङको फिनिसिङको काम अन्तिम चरणमा छ । आयोजनाको समग्र प्रगति ९९.४ प्रतिशत पुगेको छ । सबैभन्दा कठिन काम दुईवटा ठाडो सुरुङमा पाइप जडान भइरहेको उहाँले बताउनुभयो ।
दुईवटा ठाडो सुरुङमध्ये एउटा ३७३ मिटरको तल्लो ठाडो सुरुङको २६० मिटर पूरा भएको छ । तल्लोमा ११३ मिटर मात्र बाँकी छ । अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोबाट पाइप जडान भइइरहेको छ ।
माथिल्लो खण्डको ३१० मिटरमध्ये १५५ मिटर पाइप जडान भएको छ भने १५५ मिटर नै बाँकी छ । यसको जडान टेक्सम्याको आफैँले गर्दै आएको छ । टेक्सम्याकोकै ढिलाइकै कारण आयोजनाको समग्र प्रगति एक वर्ष ढिलाइ भएको छ । काम अन्तिम चरणमा पुगेकाले कर्मचारी पनि अन्तिम कसरतमा छन् । पछिल्लो कार्यतालिका अनुसार आउँदो असार मसान्तसम्म पहिलो परीक्षण गरी ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।
ठाडो सुरुङभित्रको पाइप जडानपछि दुवै पाइप बीचको तेर्सो एक सय मिटर पाइपको काम सुरु हुने छ । तर ठाडो सुरुङभन्दा सहज हुने हुँदा एक महिनामा यो जडानको काम पूरा हुने आयोजनाले जनाएको छ ।
आयोजनाको पावरहाउस, हेडवक्र्स, प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेसनको सिभिल संरचनाको काम सम्पन्न गरी केही समयपछि उपकरण जडानको काम हुनेछ । आयोजनाले अहिलेसम्म ४८ अर्ब खर्च भुक्तानी गरेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्