समिक्षाले भनिन् – ‘क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैन’

काठमाडौं – पल (पूर्णविक्रम) शाह प्रकरणमा ‘पीडित किशोरी’ भनिएकी समिक्षा अधिकारीले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम नलिने बताएकी छन् ।

फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै अधिकारीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् । यसैसाता नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको आरोपमा कलाकार शाहलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । तर, बलात्कारको मुद्दामा पलले सफाइ पाएका थिए ।

अधिकारी लेख्छिन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन । क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय पनि छैन । म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु । यहाँहरुको साथ सहयोग र सकारात्मक विचारले मेरो सांगीतिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’ साथै, अधिकारीले सामाजिक संजालमा आफूविरुद्ध बनेका लज्जास्पद तस्वीर र गालीगलौजले गर्दा मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी छन् । ‘कृपया आफ्नै घरको घटनाजस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’ उनले लेखेकी छन् ।

समिक्षाले शाहविरुद्ध दायर गरेको अर्को उजुरीमाथि आगामी चैत २ गते तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्