कर्णाली नदी कटान : सत्ती पुल र बर्दियाको राजापुर जोखिममा

कैलाली – कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको बताइएको छ ।

हरेक वर्ष बर्दियातर्फ भत्कँदै गएको नदीको भङ्गालो छिर्ने बर्दियातर्फ छिर्ने जोखिम बढेको छ । बर्दियातर्फ नदीको भङ्गालो पसेमा टीकापुर–८ श्रीलङ्का डुबानमा पर्ने जोखिम छ । त्यहाँ करिब ५० परिवार बस्दै आएका छन् । हजारौं बिघा खेती कटानको जोखिममा छ । श्रीलङ्कामा बस्ती सुरक्षाका लागि सशस्त्र प्रहरीको विओपी रहेको छ ।

नदी बर्दियातर्फ पसेमा राजापुर क्षेत्रको जङ्गल र राजापुरका विभिन्न बस्ती र बजारसमेत जोखिममा रहेको छ । गत वर्ष पनि कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको यो पुल अवरुद्ध भएपछि ६ दिन बन्द गरिएको थियो । पुलको पूर्व अर्थात् बर्दियातर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकामा मर्मतपछि पुनः सञ्चालन भएको थियो ।

सत्ती पुल भएर दैनिक सयौँ सवारीसाधन र हजारौँ नागरिक आवतजावत गर्दछन् । नदी कटान भएर बस्ती पसेमा राजापुर–४ को सङ्घर्षनगर, मुक्त कमैया बस्ती, छेदियालगायत दर्जन गाउँमा बाढी पस्ने खतरा बढ्नेछ । जल स्तर बढ्दै गएपछि कर्णालीमा हरे वर्ष नदी कटान र नदीले धार परिवर्तन गर्ने गरेको छ । पानीको बहाव बढी भएकाले ठूलो बाढी आउनासाथ पुल बगाउने जोखिम बढेको छ । जेनतेन टालटुल पारेर संरक्षण हुँदै आएको पाँच सय ३१ मिटर लामो पुल ६ वर्षअघि रु ४६ करोड लागतमा रसुवा कन्स्ट्रक्सनले निर्माण गरेको हो ।

हुलाकी सडक आयोजनाअन्तर्गत सत्ती पुलमा १४ पिलर छन् । कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दै पूर्वतर्फ बग्न थालेकाले यहाँ थप एक पिलर निर्माण गर्नुपर्ने थियो । पूर्वतर्फ कटान गरेको ठाउँमा थप एक पिलर राख्नुपर्ने स्थानीय र प्राविधिकले पुल निर्माणकै क्रममा सल्लाह दिँदै आए पनि सम्झौता नै नभएको भन्दै बन्न सकेन । एउटा पिलर नथपिएकै कारण पुल जोखिममा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्