निराजन सामुदायिक वन गौरीगंगामा पद र शक्तिको आडमा मनपरि काठ कटान

कैलाली – कैलाली, पद र शक्तिको आडमा सामुदायिक वनका अध्यक्षले मनपरि काठ गोलीया कटान गरेको पाईएको छ । गौरीगंगा नगरपालिका वडा नं ७ को निराजन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा वडा सदस्य समेत रहेका चेतराम चौधरी मनलाग्दी काठ काटी ल्याएको पाइएको हो । सामुदायिक वन उपभोक्ता समुहमा निवेदन समेत नदिइकन काठ काटेको पाइएको छ ।
बढिमा ५० क्युफिट काठ काट्ने अनुमति भएकोमा वडा सदस्य तथा सामुदायिक वनका अध्यक्ष रहेका चौधरीले ७३८.८९ क्युफिट काठ काटी ल्याएको छानबिन समितिको प्रतिवेदनले औंल्याएको छ ।

प्राकृतिक विपत्ति व्यवस्थापन अन्तर्गत क्षतिको अवस्था हेरी ३५ देखि ५० क्युफिट काठ सामुदायिक वनको बार्षिक कटान गर्न सक्ने परिणामबाट लागत कट्टा हुनेगरी दिन मिल्ने व्यवस्था विपरीत चौधरीले ठुलो परिमाणमा काठ काटेका हुन् । सोही प्रकृतिको क्षति पुगेका समुहका अन्य उपभोक्तालाई गुमराहमा राखी पदको दुरुपयोग गरि अध्यक्ष चौधरीले अनुचित लाभ लिन खोजेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
फलामको डण्डी सहितको जस्तापाताको छाना मात्रै उडेको र घरको भित्ता सामान्य क्षति भएकोमा अनुचित लाभ लिन खोजेको छानबिन समितिको प्रतिवेदनले औंल्याएको हो । जिल्ला प्रशासन कार्यालयको पत्रको आधारमा डिभिजन वन कार्यालय धनगढीले सामुदायिक वनलाई समुहको बार्षिक कटान गर्न सक्ने परिणामबाट लागत कट्टा हुनेगरी दिन पत्र पठाएको थियो ।

समुहको २०७९असार १९ गतेको बैठकले १४ फीटको बल्ली ३ थान, ९ फीटको कडी १० थान, ८ हाते खाबा १७ थान र १० फीटको सेफ्टी ३ थान दिने निर्णय भएको थियो तर चौधरीले शक्ति उन्मादका कारण समुहमा कुनै निवेदन समेत नदिइकन काठ काटेको सुजिता ओड संयोजक रहेको ५ सदस्यीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०७९ जेठ २८ गतेको हावाहुरीले चौधरी सहित स्थानीय बासिन्दाको घरमा समेत क्षती भएको थियो । जनप्रतिनिधि समेत रहेका व्यक्तिले आफ्नो जस्तै क्षति पुगेका उपभोक्तालाई बेवास्ता गर्दै सामान्य क्षति भएको आफ्नो व्यावसायिक भवनको लागि सम्बन्धित निकायलाई छलेर मनलाग्दी काठ गोलिया काट्नु खेदजनक र पदिय दायित्वको दुरुपयोग गरेको कसुरमा अध्यक्ष चौधरीलाई कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले विपद व्यवस्थापन अन्तर्गत सोहि अनुसार समुहबाट निर्णय गरेर ल्याउनु पर्नेमा बढी काटिएको जानकारी आएको र सो सम्बन्धमा सव डिभिजन वन कार्यालय मसुरियाका प्रमुखले हेरिएको र वन ऐन अन्तर्गत कारबाही हुने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता समुहको विधान कार्ययोजनामा भएको व्यवस्था अनुसार काठ उपलब्ध गराउने तथा बढि कटान गरि संकलन भएको काठको हकमा समुहको विधानमा उल्लेख भएअनुसार कारबाही गर्न सात दिनको समयसीमा दिएको र सोको जानकारी पठाउन भनिएको सव डिभिजन वन कार्यालय मसुरियाका प्रमुख सन्तोष ढुङगानाले बताएका छन् । समुहको विधान अनुसार कारबाही नभएको पाईएमा अध्यक्ष चौधरीलाई वन ऐन अन्तर्गत कारबाही गरिने ढुङगानाले बताए ।

सो सामुदायिक वनका अध्यक्ष तथा नेपाली कांग्रेसका निर्वाचित वडा सदस्य चेतराम चौधरीले प्रहरी मुचुल्का, वडाको सिफारिस सहित नियम अनुसार प्रकृया पुरा गरेर समितिले निर्णय गर्दा कुनै परिणाम नखुलाएको हुँदा काठ धेरै काटिएको स्वीकार गरेका छन् । यो बिषय अनावश्यक रूपमा प्रचार गरिएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्