‘नागरिकताको विषयलाई राजनीतिकरण गर्नु राजनीतिक बेइमानी र राष्ट्रघात हो ।’- रविन्द्र मिश्र

काठमाडौँ – नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नेपाली नागरिकता दिने व्यवस्था घातक रहेको उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले नागरिकता विधेयकबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले विधेयकमा कतिपय प्रावधान सकारात्मक भए पनि विदेशी महिलालाई नेपाली पुरुषसँग विहे गरेको ७ वर्षपछि मात्रै नागरिकता दिने प्रस्तावित व्यवस्था हटाइनु घातक भएको बताएका छन् ।

‘संसदीय समितिले त्यस्ता महिलालाई ७ वर्ष नेपालमा निरन्तर बसोबास गरेपछि मात्र नागरिकता दिन गरेको सिफारिससहितको विधेयक फिर्ता लिएर सो प्रावधान हटाइ सरकारले नयाँ विधेयक पेस गर्नु अझ घातक विषय हो,’ उनले भनेका छन् ।
अन्तर्राष्ट्रिय रूपमा पनि आफ्ना नागरिकसँग विवाह गर्ने विदेशी नागरिकलाई निरन्तर ५/७ वर्ष बसोबास गरेपछि र अन्य कतिपय शर्तहरू पुरा गरेपछि मात्र नागरिकता दिने प्रचलन रहेको उनले स्मरण गराएका छन् ।

नेपालीहरूको धेरैजसो विहेवारी हुने भारतमा पनि सो समयसीमा ७ वर्ष तोकिएको मिश्रको भनाइ छ । ‘नागरिकताको विषयलाई व्यक्तिभन्दा माथि राखेर देशको बृहत्तर हितको परिप्रेक्ष्यमा हेरिनु पर्छ,’ उनले भनेका छन्, ‘नेपालमा निरन्तररूपमा नागरिकताको विषयलाई राजनीतिकरण गर्नु राजनीतिक बेइमानी, गैरजिम्मेवारीपना र राष्ट्रघात हो ।’

सम्बन्धित समितिमा दफाबार छलफलका लागि नै नपठाइ संसोधित विधेयक पारित गरिएकोमा आपत्ति जनाउँदै मिश्रले उक्त विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्