साउदी युवराज सलमान राजा अब्दुल्लाहको हत्या गर्न चाहन्थे, पूर्व गुप्तचर अधिकारीको आरोप

साउदी अरबका एक पूर्व गुप्तचर अधिकारीले युवराज मोहम्मद बिन सलमानमाथि गम्भीर आरोप लगाएका छन् । पूर्व गुप्तचर अधिकारी साद अल जाबरीले युवराज सलमानले साउदी अरबका राजा अब्दुल्लाहलाई विष दिएर मार्ने कुरा गरेको आरोप लगाए । जाबरीले सीबीएसलाई दिएको अन्तरवार्तामा दाबी गर्दै सन् २०१४ मा सलमानले आफ्ना काकाका छोरासँग आफ्ना पिताका लागि राजगद्दीको मार्ग प्रशस्त गर्ने उद्देश्यले आफूले यस्तो गर्न चाहेको बताएका थिए । साउदी अरबमाथि राज गर्ने परिवारमा त्यतिबेला राजगद्दीका उत्तराधिकारीको विषयमा तनावको स्थिति थियो । यस्तै, साउदी सरकारले जाबरीलाई एउटा यस्ता पूर्व अधिकारी बताएको छ जसको कथा सिर्जना गर्ने इतिहास र विश्वसनीयता गुमाएका व्यक्तिको रुपमा परिचित छन् ।

पूर्व अधिकारीले के भने ?

सीबीएसको ६० मिनेट कार्यक्रममा दिएको अन्तरवार्तामा जाबरीले राजा सलमानका छोरा युवराज मोहम्मद बिन सलमानलाई (जसको हातमा देशको वास्तविक सत्ता भएको मान्यता राखिन्छ) एक साइकोप्याथ र हत्याराको संज्ञा दिँदै उनीसँग असिमित शक्ति भएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘उनी आफ्नो देशका जनता, अमेरिकी र पूरा संसारकै लागि खतरा हुन् ।’

उनले आरोप लगाउँदै भने, ‘सन् २०१४ मा भएको छलफलमा युवराज सलमानले आफ्ना काकाका छोरा र त्यतिबेलाका गृहमन्त्री मोहम्मद बिन नाएफसँग उनले राजा अब्दुल्लाहको हत्या गराउन सक्ने बताएका थिए ।’ जाबरीले भने, ‘युवराजले म राजा अब्दुल्लाहको हत्या गर्न चाहन्छु बताए । मैले रुसबाट विषालु औंठी पाएको छु । मेरा लागि उनीसँग हात मिलाउनु नै काफी हुनेछ, त्यसको उनको काम तमाम हुनेछ ।’

उनका अनुसार यो घटनालाई शाही दरबार (रोयल कोर्ट) मा गोप्य तरिकाले साम्य पारियो । उनका अनुसार यो भेटको गोप्य तरिकाले भिडियो रेकर्ड गरिएको थियो । राजा अब्दुल्लाको मृत्यु सन् २०१५ मा भयो । त्यतिबेला उनी ९० वर्षका थिए । त्यसपछि उनका सौतेनी भाइ सलमान राजा बने । राजा सलमानले मोहम्मद बिन नाएफलाई युवराज घोषित गरेका थिए ।

तर सन् २०१७ मा मोहम्मद बिन नाएफको साटो मोहम्मद बिन सलमानलाई राजगद्दीको उत्तराधिकारी घोषित गरियो । राजकुमार नाएफलाई गृहमन्त्रीको पदबाट पनि हटाइयो । रिपोर्टका अनुसार सुरुमा उनलाई हाउस अरेस्ट गरियो र त्यसको अर्को वर्ष उनलाई हिरासतमा लिइयो । उनीमाथि के आरोप छ, त्यसबारे केही जानकारी छैन ।

मोहम्मद बिन नाएफलाई पदबाट हटाइएपछि जाबरी क्यानडा गए ।

जाबरीले दिएको जानकारी अनुसार मिडिल इस्टर्न इन्टेलिजेन्स सर्भिसका एक साथीले मोहम्मद बिन सलमानले उनलाई मार्नका लागि एउटा टिम पठाउन लागेको जानकारी दिए । उनका अनुसार यो सन् २०१८ अक्टोबरको कुरा हो । त्यसको केही दिन अघि साउदी अरबका एजेन्टले टर्कीमा पत्रकार जमाल खग्गोसीको हत्या गरेका थिए ।

अघिल्लो वर्ष जाबरीले अमेरिकाको फेडरल कोर्टमा एउटा मुद्दा दर्ता गरेका थिए र युवराजमाथि हत्याको कोसिसको आरोप लगाएका थिए ।

युवराज मोहम्मद बिन सलमानले आरोप अस्वीकार गरेका थिए । उनले पत्रकार जमाल खग्गोसीको हत्यामा आफ्नो संलग्नता भएको अस्वीकार गरे । यद्यपि, अमेरिकाको गुप्तचर एजेन्सीले युवराजले नै यो अभियानलाई स्विकृति दिएको आँकलन गरेको छ ।

बीबीसीले यी आरोपको विषयमा साउदी सरकारसँग सम्पर्क गर्यो ।

वासिङ्टनस्थित साउदी दूतावासले सीबीएसलाई पठाएको एउटा बयानमा भनेको छ, ‘जाबरी एक यस्ता पूर्व अधिकारी हुन् जसले आफ्नो इज्जत गुमाइसकेका छन् । कहानी बनाउने उनको पुरानो इतिहास हो । आफ्नो लागि र परिवारका लागि आलीशान जीवनशैली हासिल गर्नका लागि गरिएको आर्थिक अपराधलाई लुकाउनका लागि उनी ध्यान भड्काउने कोसिसमा लागिरहन्छन ।’

साउदी अरबका थुप्रै कम्पनीले जाबरीमाथि भ्रष्टाचारको मुद्दा लगाएका छन् । क्यानडाका एक न्यायाधीशले उनको सम्पत्ति जफत गर्नका लागि आदेश दिएका थिए र उनले बेइमानी गरेको प्रमाण भएको बताएका थिए ।

जाबरी सरकारी रकमको चोरीको आरोप अस्वीकार गर्छन् । उनका अनुसार उनलाई ती रकम पूर्व कर्मचारीले उनलाई उदारताका साथ इनाम दिएका हुन् । साउदी अधिकारीले मार्च २०२० मा जाबरीक छोरा उमर र छोरी साराहलाई हिरासतमा लिएको थियो । मानवाधिकार समूहका अनुसार यो उनलाई साउदी अरब फर्कनका लागि बाध्य पार्नुको प्रयास हो ।

नोभेम्बरमा दुई भाइ–बहिनीलाई साउदी अरबको एक अदालतले देश छोडेर भाग्ने कोसिस र मनी लन्ड्रिङको मामिलामा सजाय सुनाएको थियो । यी दुबै आरोप गलत बताइएको थियो । उनीहरुले यो सजाय विरुद्ध अपिल गरे तर अदालतले सजाय यथावत् राख्यो ।

बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्