राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा जानुहुने, दार्चुलाको मालिकार्जुनमा झण्डै २ घण्टा बिताउनुहुने

दार्चुला – राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिम भ्रमणमा जानुहुने भएको छ । भण्डारीले दार्चुलासहित बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लाका विभिन्न तथा धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारी फागुन १५ गते बिहान १० बजे दार्चुलाको मालिकार्जुन गाउँपालिकाको मडमा पुग्नुहुनेछ । उहाँले राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । मालिकार्जुन मावि मडस्थित विद्यालयमा नागरिक अभिनन्दन गरिने छ । नागरिक अभिनन्दन कार्यक्रममा सरिक भएपछि त्यहि राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुहुने मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले बताउनुभयो ।
राष्ट्रपति भण्डारी पहिलो पटक दार्चुला आउन लाग्नुभएको हो । नेपाल सरकारको एक सय गन्तव्य सूचीमा रहेको मालिकार्जुन धाममा राष्ट्रपतिको भ्रमण हुने भएपछि मन्दिर क्षेत्रमा तयारी थालिएको छ । राष्ट्रपतिको स्वागतमा स्थानीय कला संस्कृति तथा झाकीहरु प्रदर्शन गरिने छ ।
यसैबीच जिल्लास्थित सुरक्षा निकायले मालिकार्जुन क्षेत्रको निरीक्षण गरेको छ । राष्ट्रपति भण्डारीले दार्चुलामा झण्डै २ घण्टा समय बिताउनुहुने छ ।
यस्तै राष्ट्रपति भण्डारी दार्चुलाको कार्यक्रम सकाएर बैतडी प्रस्थान गर्नुहुने छ । बैतडीको पाटनमा रहेको सिटिइभिटीबाट मान्यताप्राप्त भिमदत्त पोलिटेक्नि इनिष्टच्युटको नवनिर्मित भवनको उद्घाटन गर्नुहुने छ ।
यसैगरी भण्डारीलाई डडेल्धुरामा नगारिक अभिनन्दन तथा उग्रतारा मन्दिरको दर्शन गर्ने कार्यक्रम छ भने कञ्चनपुरमा जारी महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्