झोलुङ्गे पुलले यात्रामा सहज

रुकुम (पूर्व) – पुथाउत्तरगङ्गा गाउँपालिका–२ लाई जोड्ने गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । गाउँपालिकाको सबैभन्दा विकट क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । वडा नं ५ को काजरजङ्ग र वडा नं २ को पेल्मालाई जोड्ने गरी तीपै दोभान खोलामा २१० मिटर लामो पुल निर्माण गरिएपछि यात्रामा सहजता आएको छ । यसभन्दा अगाडि हिँड्नलाई गोरेटो बाटोसमेत नभएको उक्त ठाउँमा पुल निर्माण गरिएपछि यात्रामा सहजता आएको त्यहाँका नागरिकले बताएका छन् ।

भौगोलिक हिसाबले पनि विकट र अहिलेसम्म सडक सुविधा नपुगेको उक्त ठाउँमा निकै कष्टपूर्ण तरिकाले पुल निर्माण गरिएको हो । तीपै दोभान खोला तर्दाको जोखिम र समस्यालाई मध्यनजर गर्दै पुल निर्माण भएपछि वडा नं २ का बासिन्दालाई ठूलो राहत मिलेको नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश कमिटी सदस्य पुनीराज घर्तीले बताउनुभयो ।

उहाँका अनुसार यसभन्दा अगाडि त्यहाँका नागरिकले जोखिम मोलेर काठको पुलबाट यात्रा गर्दै आएका थिए । काठेपुल भए पनि यात्रा गर्न सबैका लागि सहज थिएन । गारेटो बाटोसमेत नभएकाले वडावासीले गाउँपालिका केन्द्र, सदरमुकाम आउनका लागि वडा नं १ मैकोटबाट घुमेर मयाङ हुँदै आउने गरेका थिए । अहिले पुल निर्माण भएपछि भने वडावासी सिधै काजरजङ्ग पुगेर तकसेरा पुग्न सक्ने घर्तीले बताउनुभयो ।

सडक पनि नपुगेको उक्त ठाउँमा घोडा, खच्चडबाट र मानिस आफैँले बोकेर नयाँबजारबाट पुल निर्माणका सामग्री ओसारेका थिए । उक्त पुल निर्माणको जिम्मा हिमशिखर निर्माण सेवाले रु एक करोड ८० लाखमा लिएको थियो । गत वर्षको भदौबाट सुरु गरिएको पुल निर्माण केही समय अगाडि सकिएको थियो । यस्तै तीपै दोभान खोलाको पुलसम्म पुग्नका लागि वडा नं ५ काजरजङ्गको काखोलामा १३० मिटर लामो पुल पनि निर्माण गरिएको छ । सोही निर्माण सेवाले रु ८७ लाखमा उक्त पुल निर्माण गरेको हो ।

रासस

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्