बेदकोट नगरपालिकाको बजेट ८३ करोड ९२ लाख, शिक्षा , स्वास्थ र पुर्वाधार मुख्य प्राथमिकतामा

कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ८३ करोड ९२ लाख ३३ हजारको बजेट पारित गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको नवौँ नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको हो । यस्तै नगरसभाले महत्वपूर्ण निर्णय समेत पारित गरेको छ ।
बेदकोट नगर सभाले बेदकोट वडा न ४, वडा न ७ र वडा न १० का नागरिकको माग र आवश्यकता अनुसार भूगोल नमिलेको, जन संख्या र भुगोल ठुलो भएका ३ वटा वडाहरुको संख्या र सिमाना हेरफेर गर्दै सुदुरपश्चिम प्रदेश सरकार मार्फत संघिय सरकारलाई सिमान्कन गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
नगर सभाले शिक्षा , स्वास्थ र पुर्वाधारलाई मुख्य प्राथमिकता दिइएको छ । नगर अस्पताल निर्माण, कोल्ड स्टोर निर्माण, कालोपत्र सडक निर्माण, पर्यटन पुर्वाधार, सिँचाइ बोरिङ्ग, नदि तटबन्द, रेडक्रसको बेदकोट उपशाखा र सुडा उपशाखाको भवन निर्माण, वन्यजन्तु र मानव बिच द्धन्द न्युनिकरण गर्न मेस वायर निर्माण, पतन्जली योगा हल भवन, बस पार्क, अन्त्येष्टि गृह निर्माण, फोहोर व्यवस्थापन केन्द्र निर्माण, बस पार्क, झोलुङ्गे पुल निर्माण, बिद्यालय भवन, अक्सिजन प्लाण्ट निर्माण, खेलकुदका संरचना निर्माण, बिद्युतीकरण लगायत नगर बहुबर्षिय आयोजनामा बजेट बिनियोजन गरेको छ ।
यस्तै नगर सभाले दलित, आदिवासी जनजाती, अपाङ्गता भएका र बिपन्न गरिब जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति दिएर डाक्टर, पाइलट, ईन्जिनियर , कृषि बिज्ञान , सब ईन्जिनियर , सर्बेक्षक, स्टाप नर्स , जेटिए, अनमी, एचए, लगायत प्राबिधिक क्षेत्रमा पढाएर दक्ष जनशक्ति तयार गर्न रु ५५ लाख बजेट विनियोजन गरेको छ ।
कोभिडले रोजगारी गुमाएकालाई कृषि र पशुपालनमा उद्यमी बनाउने कार्यक्रमका लागि बजेट बिनियोजन गर्नुका साथै उद्यमी गर्न नचाहने भारतमा रोजगारीका लागि जानै पर्ने भए तथ्यांक संकलन गरेर बिमा गर्न बजेट विनियोजन गरेको नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभयो ।
कोभिड अस्पताल संचालन गरि स्वास्थ्य सेवा दिन २ जना डाक्टर र स्वास्थ्यकर्मी व्यवस्थापन गर्न र खोप व्यवस्थापन गर्न साथै अक्सिजन प्लाण्ट निर्माण गर्न बजेट बिनियोजन गरिनुका साथै कोरोना बिरामी र गर्भवती आमाका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत निर्णय गरेको छ । यस्तै वडामा स्वास्थकर्मी थप व्यवस्थापन गर्ने तलब सुबिधा असमान रहेको हुँदा समान पदको समान गर्ने निर्णय गरेको छ ।
सामुदायिक बिधालयका निजि स्रोतका शिक्षकहरुको एसटीआर आधारमा बिालयलाई अनुदानको व्यवस्थापन गर्ने, प्रारम्भिक बाल शिक्षकहरुलाई बेदकोट नगरपालिकाले मासिक ७ हजार दिने र उपयुक्त बिद्यार्थी संख्या अनिवार्य हुनुपर्ने तथा सामुदायिक बिद्यालयका कर्मचारीको तलबमा नगरपालिकाले १०५००, ७५०० र ३५०० दरले मासिक थप दिने निर्णय गरेको छ ।
यस्तै लामो समय देखि कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई अवकास लिदा एकमुष्ट २ लाख दिने, बेदकोट नगरपालिकाको कर्मचारीको सेवा सुबिधा बारे निर्णय गर्ने अधिकार नगर कार्यपालिका लाई दिनुका साथै महिला , दलित, आदिवासी जनजाती , अपाङ्गता क्षेत्रमा बिशेश कार्यक्रम गर्ने निर्णय गरेको छ ।
युवा, किशोर किशोरी र बालबालिका सन्जाल निर्माण गरि कार्यक्रम गर्ने, लागू औषध दुरुपयोग ओसारपसार विरुद्ध अभियान संचालन गर्ने, बिकास निर्माणका काममा ५ लाख भन्दा माथी सबै टेन्डर÷ ठेक्का प्रणाली बाट गर्ने र कोभिड महामारी मा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिने तथा कोभिडका कारण ज्यान गुमाएका सबै प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफन्त गुमाउनुपरेको परिवारलाई समवेदना प्रकट गर्ने निर्णय गरेको नगर प्रमुख चन्दले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्