महाकाली राजमार्गको बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्ड पुनः अवरुद्ध

FILE PHOTO

बैतडी – लगातारको वर्षाले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ । राजमार्गको बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

गए राति १ बजेदेखि राजमार्ग अवरुद्ध भएको त्यहाँबाट से१ख १३३३ एमबुलेन्सका चालक धनेश जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक माथिबाट पहिरो खसेको छ, राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।” राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग जेसिबीको सहायताले खोल्ने प्रयास भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको जेसिबी लिएर जाँदैछौँ, लगातारको वर्षाले केही समस्या गर्लाजस्तो छ ।” यसअघि शनिबार अपराह्न सुर्नया गाउँपालिका–३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा बेलुका सञ्चालनमा ल्याइएको थियो । केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भइरहेका छन् ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्