चैते धानतर्फ किसान आकर्षित

बाँकेका बैजानाथ गाउँपालिका—८ झिंगौराका किसान अजितकुमार सुनार यस वर्षको परीक्षणमा पहिला पटक चैते धान फलाउन सफल भएका छन् । बर्षे धानभन्दा उत्पादनमा दोब्बर वृद्धि भएको अन्य किसानहरूबाट सुनेपछि सुनारले पनि चैते धान लगाएका हुन् । उत्पादन राम्रो भएपछि अर्को वर्षदेखि थप जमीनमा पनि चैते धान रोप्ने उनले सोच बनाएका छन् । कृषि ज्ञान केन्द्र बाँकेले किसान उनलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान बिउ उपलब्ध गराएको थियो । पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिँदै आएको छ । बर्दियाका किसानले एक दशकदेखि नै चैते धान लगाउँदै आएका छन् । यस वर्ष बाँकेका किसानले पनि चैते धान फलाउन सफल भएका छन् । सिक्टा सिँचाइ आयोजनाअन्तर्गत नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका हुन् । नहरमा बाह्रै महिना पानी आउन थालेपछि किसानलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियो ।

यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाउँका किसान ज्ञानबहादुर नेपालले पनि ११ कट्ठा जमीनमा चैते लगाएका छन् । किसान नेपालले असार पहिलो हप्तासम्म चैते धान थन्क्याएर बर्खे धान लगाउने तयारी गरेको बताए । परीक्षणका रूपमा उनले हल्दीनाथ ३ र चैते धान ५ नामक धानको बिउ रोपेका हुन् । लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि चैते धानको खेती लगाउनु भएको हो । एक वर्षमै शुरुमा बर्खे धान, त्यसपछि हिउँदमा मसुरो र चैतमा चैते धान खेती गरेको नेपालले बताए । सिँचाइ सुविधा पुगेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको उनको भनाइ छ । धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल, बिउसमेत उपलब्ध गराएको केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए । अर्को वर्ष थप किसानलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने उनले जानकारी दिए । बाँकेमा चैते धान फल्ने खेतमा गहुँ, मकै र तरकारीको खेती गर्ने चलन छ ।

बबई सिँचाइ आयोजनाको काम अधुरै

बर्दियास्थित बबई सिँचाइ आयोजनाको मूल नहरको शाखा, उपशाखा र तटबन्धको निमार्णको काम अधुरै रहेको छ । तीन वर्षअघि बेपत्तापुर, कुम्रागाउँ, ढुग्रही र गुरुवा गाउँको तटबन्धका लागि रु ३३ करोड ४२ लाखमा राजेन्द्र शर्मा जेभी धनगढीले ठेक्का लिएको थियो । आयोजनाअन्तर्गत गुरुवा गाउँको १ हजार १५० मिटर तटबन्धको काममध्ये ३० प्रतिशत मात्रै पूरा भएको छ । तीमध्ये कुम्रागाउँ र बेपत्तापुरको १ हजार १०० मिटरको काम करीब ९० प्रतिशत पूरा भएको छ । ढुग्रहीको ४५० मिटर तटबन्ध ६४ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । तीन दशक अघि बर्दियामा शुरु भएको बबई सिँचाइ आयोजनाको नहर निमार्णको लागि काम अहिलेसम्म ५१ प्रतिशतमात्रै सम्पन्न भएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले कामले तीव्रता नपाएको आयोजनाले जनाएको हो । कोरोना महामारीले समेत काममा बाधा भएको आयोजनाले जनाएको छ ।

वि.सं २०७१ सालमा आएको बाढीले ढुग्रहीमा ११ जनाको ज्यान गएको थियो भने यस क्षेत्रमा ९५ प्रतिशत घर डुबानमा पारेका थिए । यसै क्षेत्रमा तटबन्धको कामले गति नलिँदा पुनः बाढी र कटानको जोखिम बढेको स्थानीयवासी कालुराम थारूले बताए । बबई नदीको कटान क्षेत्र मानिएको जब्दीघाट र भैसाहीमा तटबन्ध ५० देखि ६५ प्रतिशत सकिएको छ । निर्माण कम्पनीले म्याद थपेको थपै गर्दा कामले तीव्रता पाएको छैन् । ठेकेदार कम्पनीले काममा चासो नदिँदा ढिलासुस्ती भएको स्थानीयले गुनासो गरेका छन् ।

चार वर्षअघि सम्पन्न हुने ३४ किमि पूर्वी मूल नहर गत जेठको पहिलो साता सकिएको छ । आयोजनाका भिजनल इन्जिनियर रामकृष्ण घोडासैनीले कोभिडका कारण आयोजनाको काम ढिलासुस्ती भएको बताए । पश्चिम नहर पनि काम भएको छैन् । जम्मा २८ किमी नहरको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७२ जेठ ६ गते सम्झौता भएको थियो । यस आवमा २८ किमीमध्ये २५ किमि सम्पन्न हुने आयोजनाले जनाएको छ ।

जग्गा अधिग्रहणको विवादले मूल नहरको काम हुन नसकेको आयोजना प्रमुख मधुकर राना मगरले बताए । पश्चिम मूल नहर ४३ किमि आव २०८२÷८३ मा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको काम सम्पन्न गर्न सरकारले रु १८ अर्ब ९६ करोड ३० लाख रकम स्वीकृत गरिसकेको छ । त्यसमध्ये हालसम्म आधा रकम खर्च भएर ५१ प्रतिशत काम भएको जानकारी आयोजनाले जनाएको छ ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्